काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समय तालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा हार्दिक आभार व्यक्त गरेकी छिन् । आज सन्देश जारी गर्दै आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि आज अर्को महत्त्वपूर्ण कोशेढुंगा मनोनयन दाखिला पार गर्न सफल भएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको यहाँहरूलाई पुनः स्मरण गराउँछु, सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिने छैन, हाम्रा सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन् ।’
प्रतिनिधिसभाको १६५ पदका लागि ३ हजार ४०० भन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता हुनु लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाण भएको उल्लेख गर्दै उहाँले नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने आजको राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको बताइन् ।
निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभइ निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको बताउँदै उहाँले अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छ । सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘निर्वाचन कार्यतालिका बमोजिम अहोरात्र खटिएर आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेकोमा निर्वाचन आयोगलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु, साथै, यो लोकतान्त्रिक अभ्यासलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गर्दछु ।’
प्रधानमन्त्री कार्कीले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई निर्वाचनमा सक्रिय र संयम साथ सहभागी हुन हार्दिक अपिल पनि गरिन् ।