काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ ।
नेमकिपाले ६७ पुरुष र ५३ महिलालाई उम्मेदवार बनाएको पार्टीका केन्द्रीय सदस्य सरोज राज गोसाईले जानकारी दिए । नेमकिपाले बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवा बाहेक १२ जिल्लामा उम्मेदवारी दिएको जानकारी दिँदै उनले १२ जिल्लाको ३२ निर्वाचन क्षेत्रमा २० महिला र १२ पुरुषलाई उम्मेदवार बनाएको बताए । उक्त प्रदेशमा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई भक्तपुर क्षेत्र नं १ बाट उम्मेदवार बनाएको छ ।
कर्णाली प्रदेशमा सात जिल्लाको नौ निर्वाचन क्षेत्रमा एक महिलासहित ९ जनालाई उम्मेदवार बनाएको केन्द्रीय सदस्य गोसाईले बताए । कालिकोटमा नन्दबहादुर शाही, जुम्लामा बिर्ख बहादुर राउत र दैलेखमा बखत बहादुर थापा, सुर्खेतमा तुलसी खड्कालाई उम्मेदवार बनाइएको छ ।
त्यसैगरी कोशी प्रदेशको १२ जिल्लामा ८ महिला र १३ पुरुष, मधेश प्रदेशका ८ जिल्लामा ६ महिला र १६ पुरुषलाई उम्मेदवार बनाएको छ । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये सात जिल्लामा उम्मेदवारी दिएको नेमकिपाले ८ महिला र ६ पुरुषलाई उम्मेदवार बनाएको केन्द्रीय सदस्य गोसाईले बताए । गण्डकी प्रदेशमा ११ मध्ये ५ जिल्लामा ६ महिला र २ पुरुष तथा सुदूरपश्चिम प्रदेशमा बाजुराबाहेक ८ जिल्लामा ५ महिला र ९ पुरुषलाई उम्मेदवार बनाएको सो पार्टीले जनाएको छ ।