सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी

काठमाडौं । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटले जानकारी दिए । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कैलाली निर्वाचन क्षेत्र नं १ मा १९ जना, कैलाली-२ मा १६, कैलाली-३ मा ११, कैलाली-४ मा १६ र कैलाली-५ मा १६ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयका प्रवक्ता भाटले जानकारी दिए । 

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र-१ मा १९ जना, कञ्चनपुर-२ मा १९ र कञ्चनपुर-३ मा १७ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । अछाम क्षेत्र नं १ मा ८ र अछाम २ मा ९ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार डोटीमा ९, बाजुरामा ८, बझाङमा ७, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले मनोनयन दर्ता गराएका छन् ।

कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले मनोनयन दर्ता गराएका हुन् ।

Share News