काठमाडौं । निर्वाचनका कारण १० दिनमै पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने सरकारी अधिकारीहरूले अनुमान गरेका छन् । नेपाल आयल निगमका अनुसार चुनावका बेला पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढ्ने भएकाले त्यसलाई लक्षित गरी इन्धन व्यवस्थापनको तयारी सुरु गरिएको छ ।
सामान्य अवस्थाभन्दा चाडपर्वमा जस्तै चुनावका बेला पनि ठूलो परिमाणमा पेट्रोलियम पदार्थ खपत हुने अनुमानसहित निगमले सोहीअनुसार इन्धन व्यवस्थापनको तयारी थालेको अधिकारीहरूले बताएका छन् । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले चाडपर्वमा जस्तै चुनावका लागि आयल निगमले इन्धन भण्डारण पर्याप्त गर्न सबै डिपोहरूलाई निर्देशन दिन लागेको बताए ।
उनका अनुसार चुनाव आसपासका केही दिन नाका पनि बन्द हुने भएकाले सोहीअनुसार इन्धन व्यवस्थापन गर्न डिपोहरूलाई निर्देशन दिइँदैछ ।
कार्यकारी निर्देशक भट्टले भने, 'हामीले हरेक डिपोलाई अब केही दिनमै निर्देशन दिँदैछौँ । चुनाव हुने निश्चित नै भयो। चुनाव अवधिमा बजारमा कुनै समस्या नहोस् भनेर हामीले डिपोहरूलाई स्टक राख्न भनेका छौँ ।'
कार्यकारी निर्देशक भट्टका अनुसार अहिले औसतमा करिब २०–२५ लाख लिटर पेट्रोल र ३८–४० लाख लिटर डिजेल खपत हुने गरेको छ । चुनावको १० दिनअघि मात्रै औसतमा २०–२५ प्रतिशत खपत वृद्धि हुने अनुमान छ । त्यहीअनुसारको स्टक राखेर अघि बढ्ने तयारी गरिएको छ ।
चुनावका बेला सीमाना बन्द हुने भएकाले इन्धन ढुवानीमा आयल निगम पहिल्यै चनाखो हुने कार्यकारी निर्देशक भट्टले बताए ।
उनले भने, 'चुनावका बेला हामी अलि चनाखो भएर कति दिन सीमा बन्द हुन्छ, त्यसअनुसार हाम्रा ट्याङ्करहरू र भएका भण्डारण गृहहरू पूर्ण रूपमा भरेर राख्नेछौँ । हामीसँग भएका १७–१८ सय ट्याङ्करहरू परिचालन गर्नेछौँ। ती ट्याङ्करमा पनि स्टक राखिनेछ। यसरी आपूर्ति व्यवस्थालाई सहज बनाइनेछ ।'
उनले २–४ दिन सीमा बन्द भए पनि बजारमा समस्या नहुने गरी इन्धन व्यवस्थापन तथा आपूर्ति गरिने जानकारी दिए। कुन–कुन नाकाबाट कति इन्धन ल्याएर कति स्टक राख्ने भन्नेबारे यसै साता आयल निगम निर्णयमा पुग्नेछ ।
नेपालमा आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिको व्यवस्था मिलाउने जिम्मेवारी पाउँदै आएको छ । इन्डियन आयल कर्पोरेसनबाट आयल निगमले पेट्रोल, डिजेल, हवाई इन्धन तथा ग्यास आयात गर्दै आएको छ ।
हाल वितरण केन्द्र तथा डिपोहरूमा आयल निगम नआई मोबाइलमार्फत पैसा तिरेर इन्धन खरिद गर्न सकिने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक भट्टले बताए ।
नेपाल आयल निगमले भण्डारण क्षमता विस्तारको कामलाई तीव्र पारेको छ । दुई वर्ष अघिसम्म पेट्रोल आठ दिन र डिजेल १२ दिनका लागि मात्र धान्न सक्ने क्षमता रहेकोमा निगमले अमलेशगञ्जमा १४ हजार केएल क्षमताका चारवटा इन्धन भण्डारण ट्याङ्की निर्माण गरेको छ । पोखरामा १० हजार केएल क्षमताको ट्याङ्की पनि सञ्चालनमा ल्याइएको छ । साथै विराटनगर र नेपालगञ्जमा रहेका ट्याङ्कीहरू प्रयोगमा ल्याउँदै भण्डारण क्षमता बढाउँदै लगिएको छ ।
अहिले निगमसँग डिजेल करिब १४ दिन र पेट्रोल १२ दिनका लागि भण्डारण गर्ने क्षमता रहेको कार्यकारी निर्देशक भट्टले जानकारी दिए ।
पाइपलाइनको काम पनि तिव्र
नेपाल आयल निगमले पाइपलाइनमार्फत इन्धन ल्याउन पाइपलाइन विस्तारको कामलाई तीव्र पारेको छ । हाल मोतिहारी–अमलेशगञ्ज पाइपलाइन निर्माण गरी सञ्चालनमा ल्याइसकिएको छ । २०७६ सालमा डिजेल मात्र पाइपलाइनबाट ल्याइएकामा अहिले अमलेशगञ्जमा पेट्रोलको भण्डारण गृह निर्माण गरी पेट्रोल र मट्टितेल पनि पाइपलाइनमार्फत ल्याउन सफल भइरहेको भट्टले जानकारी दिए ।
उनका अनुसार अहिले डिजेल, पेट्रोल र मट्टितेल आवश्यक पर्दा जुनसुकै बेला भारतबाट ल्याउन सहज भएको छ । यसअघि ट्याङ्करमार्फत इन्धन ल्याउँदा बेलाबेलामा समस्या हुने गरेकामा अहिले त्यस्ता अवस्था हटेको उनले बताए ।
कार्यकारी निर्देशक भट्टका अनुसार पाइपलाइनमार्फत इन्धन ल्याउँदा ढुवानी खर्च पनि सस्तो पर्ने गरेको छ । ढुवानी खर्च घटेकै कारण उपभोक्तालाई प्रतिलिटर दुई रुपैयाँ इन्धन सस्तो पर्न गएको छ । आगामी दिनमा पाइपलाइन विस्तारको काम अघि बढिरहेकाले अझ ढुवानी लागत घट्ने र उपभोक्ताको भार कम हुने उनले बताए ।
भट्टका अनुसार अहिले नयाँ पाइपलाइन योजनाहरू पनि अघि बढाइँदै छन् । अमलेशगञ्ज–चितवन र सिलिगुडी–झापासम्मको पाइपलाइन योजना कार्यान्वयनमा रहेको छ । यसबाट प्रतिलिटर साढे तीन रुपैयाँसम्म इन्धन अझ सस्तो पर्ने अनुमान गरिएको छ ।
पाइपलाइन तथा भण्डारण गृहको काम अबको तीन वर्षभित्र सम्पन्न गर्ने आयल निगमको लक्ष्य रहेको छ । हवाई इन्धनलाई समेत पाइपलाइनमार्फत नेपालमा ल्याई भण्डारण तथा वितरण गर्ने तयारी भइरहेको निगमले जनाएको छ । यसले ट्याङ्करमार्फत भारत जानुपर्ने बाध्यताको अन्त्य गर्ने विश्वास निगमले व्यक्त गरेको छ ।