९.७७ अर्बको पेट्रोलियम पदार्थ आयात, ४.७४ अर्ब रुपैयाँ राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट ९ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी ९ अर्ब ७७ करोड २ लाख ३२ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ५१ करोड ५९ लाख ४३ हजार रुपैयाँ अर्थात् ५.६० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व ५.७० प्रतिशत अर्थात् २५ करोड ४२ लाख ४० हजार रुपैयाँले बढेको उनले बताए । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट ४ अर्ब ७४ करोड ९४ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ४ अर्ब ७२ करोड ६ लाख रुपैयाँ पर्ने ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको थियो ।

यसैगरी ३ अर्ब २२ करोड ६५ लाख रुपैयाँ पर्ने ३३ हजार ७४४ किलोलिटर डिजेल आयात भएको छ । यस्तै, ६ महिनाको अवधिमा १ अर्ब २४ करोड ७ लाख रुपैयाँ पर्ने १२ हजार ८११ मेट्रिक टन एलपी ग्यास, ३७ करोड ९४ लाख रुपैयाँ पर्ने ४ हजार ११२ किलोलिटर एटिएफ र ९ करोड ५ लाख रुपैयाँ पर्ने ९६४ किलोलिटर मट्टितेल आयात भएको कार्यालयको तथ्याङ्क छ ।

Share News