काठमाडौं । शिव शक्ति केमोप्लास्ट प्रालिले एक वर्षमा १ अर्ब भन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब १४ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।
यसअघि कम्पनीले सन् २०२४ मा १ अर्ब ७० लाख रुपैयाँ, सन् २०२३ मा ९२ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १३ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
सन् २०२५ मा उद्योग क्षमताको ६५ प्रतिशत उपयोग भएको कम्पनीले जनाएको छ । जबकि यसअघि सन् २०२४ मा ६४ प्रतिशत र सन् २०२३ मा ५२ प्रतिशत क्षमता उपयोग भएको थियो ।
सन् २०२४ मा २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष २ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
सन् २००२ मा स्थापना भएको शिव शक्ति केमोप्लास्टले विभिन्न प्रकारका पीपी वोभन फ्याब्रिक्स र बोराहरू, लेमिनेटेड पीपी ब्याग, त्रिपाल, प्राकृतिक तथा रंगीन फ्याब्रिक्स उत्पादन गर्दै आएको छ । अष्ट्रियाको गुणस्तर मापदण्डअनुसार उत्पादन गर्दै कम्पनीले ती उत्पादनहरू आन्तरिक बजारसँगै निर्यातसमेत गर्दै आएको छ ।
शिव शक्ति ग्रुपद्वारा सञ्चालित यस कम्पनीलाई राहुलकुमार अग्रवालले सञ्चालन गर्दै आएका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७३ करोड २१ लाख रुपैयाँ ऋण लिएको छ । जसमध्ये दीर्घकालीन ६ करोड २१ लाख रुपैयाँ र अल्पकालीन ६७ करोड रुपैयाँ ऋण रहेको छ ।