इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सडक सुरक्षा तालिम सम्पन्न

काठमाडौं । इनड्राइभले 'इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा' अभियान अन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि सडक सुरक्षा तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।

यस पहलमार्फत इनड्राइभले चालक सशक्तिकरण, सडक सुरक्षा प्रवर्द्धन तथा समुदायको समग्र कल्याणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जनाएको छ । तालिम सत्रमा ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमको पालना, जिम्मेवार ड्राइभिङ र पेशागत आचरणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

इनड्राइभका अनुसार यस्ता तालिमले सुरक्षित, विश्वसनीय र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकहरूको भूमिकालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । नियमित र गुणस्तरीय सुरक्षा तालिमलाई प्राथमिकतामा राख्दै कम्पनीले आफ्ना ड्राइभरहरूलाई आर्थिक रूपमा मात्र होइन, आत्मविश्वासी, सचेत र वास्तविक सडक चुनौती सामना गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।

यस पहलको एक प्रमुख विशेषता इनड्राइभको ‘स्वतन्त्र छनोट’ मोडेल हो, जसले ड्राइभरहरूलाई यात्रासम्बन्धी निर्णयहरू स्वतन्त्र रूपमा लिन सक्ने अधिकार प्रदान गर्दछ । सुरक्षा शिक्षालाई स्वायत्ततासँग जोड्दै, इनड्राइभले सुरक्षा र सेवाको गुणस्तरमा सम्झौता नगरी दिगो र न्यायपूर्ण मोबिलिटी प्रणाली प्रवर्द्धन गर्दै आएको छ ।

तालिमका सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सत्र नेपाल ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए । सो अवसरमा उनीहरूले सुरक्षित सडक सुनिश्चित गर्न प्लेटफर्म, चालक र सम्बन्धित निकायबीचको सहकार्य तथा साझा जिम्मेवारीको महत्व औंल्याएका थिए ।

इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले चालक साझेदारहरूको सशक्तिकरण प्रविधि वा आम्दानीमा मात्र सीमित नभई जिम्मेवार, सुरक्षित र दिगो मोबिलिटी संस्कृतिको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको बताइन् । यस्ता सुरक्षा तालिमले चालकहरूलाई यात्रु तथा आफ्नै सुरक्षाप्रति सचेत रहँदै जिम्मेवार निर्णय लिन सक्षम बनाउने उनको भनाइ छ ।

इनड्राइभले ड्राइभर पार्टनर्सलाई सेवाको मेरुदण्डका रूपमा लिँदै उनीहरूको सुरक्षा, सीप विकास र सशक्तीकरणलाई सदैव प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस पहलमार्फत नेपालमा समावेशी, सुरक्षित र विश्वासयोग्य राइड–हेलिङ समुदाय निर्माण गर्ने आफ्नो दृष्टिकोणलाई कम्पनीले पुनः पुष्टि गरेको जनाएको छ ।  

Share News