काठमाडौं । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । पार्टीको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि उनले राजीनामा दिएका हुन् ।
उनका अनुसार नयाँ नेतृत्व चयन भएसँगै संगठनात्मक पुनर्संरचनाको प्रक्रियाअन्तर्गत पौडेलले मुख्य सचिवको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् । उनले आफ्नो कार्यकालमा पार्टी संगठन मजबुत बनाउन भूमिका खेलेको नेताहरूले बताएका छन् ।
पौडेलले आफूले राजीनामा दिएको स्वीकार गर्दै अब आफू निर्वाचनमा पार्टीलाई जिताउन होमिने बताए । उनले भने, ‘काठमाडौं ७ का पार्टी उम्मेदवारलाई जिताउन लाग्नेछु ।’
विशेष महाधिवेशनमार्फत गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि केन्द्रीय कार्यालयदेखि विभागीय संरचनासम्म परिवर्तनको क्रम सुरु भएको छ ।
यही क्रममा मुख्यसचिव पौडेलको राजीनामा आएको हो । पौडेलले भने निर्वाचनमा खटिन राजीनामा दिएको दाबी गरेका छन् ।