काठमाडौं । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको रक्षा गर्न विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत् रूपमा स्थापना भएको थियो ।
तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल-२०५६’ ले दिएको सुझाव बमोजिम त्यसबेलाका राजा वीरेन्द्र शाहबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएसँगै आजैका दिन सशस्त्र प्रहरी बल गठन भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सशस्त्र प्रहरी मुख्यालय हलचोकमा रजत महोत्सव विशेष समारोहको आयोजना गरिएको छ । सुरुआतमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बलमा ल्याइएको थियो । स्थापनापश्चात महाराजगन्ज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालय राखिएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षकमा कृष्ण मोहन श्रेष्ठ नियुक्त भएका थिए । संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले प्रातकालीन भ्रमणको दौरान २०५९ साल माघ १२ गते गोली प्रहारबाट वीरगति प्राप्त गरेका थिए । उनीसँगै धर्मपत्नी तथा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष नुडुप श्रेष्ठ र अङ्गरक्षक सूर्यप्रसाद रेग्मीले साहदत प्राप्त गरेका थिए ।
तत्कालीन सरकारले सशस्त्र प्रहरीलाई नेपालको कुनै भागमा भएको वा हुनसक्ने सशस्त्र सङ्घर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी तथा आतङ्कारी गतिविधि नियन्त्रण गर्ने लगायत १३ वटा कार्यादेश सुम्पेको थियो । त्यसपछि नेपाल सरकारले विभिन्न समयमा सशस्त्र प्रहरीलाई राजस्व, भन्सार तथा औद्योगिक र रेल्वे सुरक्षालगायत विभिन्न जिम्मेवारी दिँदै आएको छ ।
यो २५ वर्षे यात्रामा सशस्त्र प्रहरी बल नेपालले राज्यप्रदत्त कार्यादेश प्रभावकारी ढङ्गले सम्पादन गर्दै सङ्गठनको संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा विशेष जोड दिँदै आएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
हालका दिनमा सशस्त्र प्रहरीले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहायता र विपद् व्यवस्थापनमा आफूलाई भरपर्दो सङ्गठनका रूपमा उभ्याएको छ । सीमा सुरक्षा र विपद् व्यवस्थापनलाई सशस्त्र प्रहरीले उच्च प्राथमिकतामा राखेको छ ।
विसं २०६१ मङ्सिर १ गतेको निर्णयानुसार तत्कालीन शाही नेपाली सेनाको सट्टा प्रमुख भन्सार नाकाहरूको सुरक्षार्थ सशस्त्र प्रहरी तैनाथ भएको थियो । विसं २०६३ फागुन ८ गतेदेखि डेडिकेटेड रूपमा सीमा सुरक्षाको जिम्मेवारी पाएको छ ।
सशस्त्र प्रहरीले सातवटा रिजर्भ गण, ४५ वटा सीमा सुरक्षा कार्यालय र २१५ वटा बिओपीमार्फत सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुका साथै राजस्व सङ्कलनमा समेत सहयोग पुर्याउँदै आएको सहप्रवक्ता थापा बताउँछन् ।
नेपालको अन्तरराष्ट्रिय सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत सीमा इलाकाको बाटोघाटो सरसफाइ तथा स्तरोन्नति, अन्य विकास निर्माणका कार्यमा सहयोग, सचेतनामूलक कक्षाहरू, स्वास्थ्य शिविर र सीमावासी जनतामा सीप तथा स्वरोजगारमूलक कार्यक्रम हुँदै आएका छन् ।
सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा आफूलाई अब्बल सुरक्षा फौजका रूपमा स्थापित गरेको छ । विपद् व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०६८ साल मङ्सिर २२ गते चितवनको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वातारोहणको क्रममा प्रतिकूल मौसमको कारण तथा भारी हिमपातमा हुनसक्ने दुर्घटनाहरूमा उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्न मनाङ पर्वतीय उद्धार तालिम शिक्षालयको समेत स्थापना गरेको छ ।