काठमाडौं । भक्तपुरको मध्यपुरथिमि-२ सानोथिमिस्थित बाल सुधार गृहमा बिहीबार राति झडप र आगजनी भएको छ ।
बाल सुधार गृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधार गृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
प्रहरी टोलीलाई झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गा मुढा गरेको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए ।
मध्यरातमा भक्तपुर र काठमाडौंका वारुणयन्त्रले आगो निभाएका थिए । सुधार गृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ । उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन् ।