काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाभर रहेका ८८ मतदानस्थल संवेदनशील रहेकामा तीमध्ये २३ वटा ‘अति संवेदनशील’ सूचिमा परेका छन् ।
‘संवेदनशील र अति संवेदनशील मतदानस्थलमा विशेष सुरक्षा सतर्कता अपनाइनेछ,’ जिल्ला प्रहरी प्रमुख कोमल शाहले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र निर्वाध रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार सुरक्षाकर्मीहरू कार्यस्थलमै परिचालन गरिनेछन् ।
निर्वाचन सुरक्षाका लागि जिल्लामा निर्वाचन प्रहरी २ हजार २६९ जना, नेपाल प्रहरी १ हजार ११५ जना र सशस्त्र प्रहरी ३५० जना परिचालन गर्ने योजना रहेको छ । काभ्रेपलाञ्चोकमा कायम कुल ३ लाख २६ हजार ६११ मतदातामध्ये १ लाख ६७ हजार ४९९ पुरुष, १ लाख ५९ हजार ११० महिला र २ जना अन्य लिङ्गका मतदाता रहेका छन् ।
यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी छनोट प्रक्रियाअन्तर्गत बिहीबार धुलिखेलमा लिखित परीक्षा तथा अन्तर्वार्ता सम्पन्न भएको छ । माग गरिएको सङ्ख्याका लागि २ हजार ४९३ जनाले आवेदन दिएकोमा २ हजार २८३ जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आसन्न निर्वाचनमा काभ्रेपलाञ्चोकका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ४२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नं १ मा १५ दल र ३ स्वतन्त्र गरी १८ जना उम्मेदवार मैदानमा छन् ।
त्यसैगरी, निर्वाचन क्षेत्र नं २ मा १६ दल र ८ स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं २ मा दुई दलका र एक स्वतन्त्र गरी ३ जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् ।
क्षेत्र नं १ मा अन्य समूहबाट एक जना उम्मेदवार रहेका छन् भने ११ जना स्वतन्त्र उम्मेदवार छन् । यस निर्वाचनमा दलित समुदायबाट उम्मेदवारी नपरे पनि जनजातितर्फबाट २५ जना प्रत्याशी बनेका छन् ।