काठमाडौं–१ मा कांग्रेसलाई राप्रपा र रास्वपाको दोहोरो चुनौती

काठमाडौं । आगामी आमनिर्वाचन २०८२ नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा राजनीतिक तापक्रम तीव्र रूपमा बढिरहेको छ । लामो समयसम्म दुई ठूला दलबीच सीमित देखिएको प्रतिस्पर्धा यसपटक बहुदलीय, त्रिकोणात्मक र अनिश्चित दिशातर्फ अघि बढिरहेको संकेत देखिन्छ । 

काठमाडौं–१ नेपाली कांग्रेसको बलियो किल्ला मानिन्छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि २०७९ को प्रतिनिधिसभा निर्वाचनसम्म कांग्रेसका नेता प्रकाशमान सिंह यही क्षेत्रबाट लगातार विजयी हुँदै आएका थिए । 

राजधानीको केन्द्रीय राजनीतिक वृत्तमा गहिरो प्रभाव राख्ने सिंहको व्यक्तिगत पहिचान र संगठनात्मक पकडले यो क्षेत्र लामो समय कांग्रेसको सुरक्षित गढका रूपमा चिनिँदै आएको हो ।

तर २०७९ को निर्वाचन परिणामले त्यो सुरक्षित किल्ला गम्भीर रूपमा कमजोर भएको संकेत दियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रविन्द्र मिश्रसँगको प्रतिस्पर्धामा सिंहले जम्मा १२५ मतको झिनो अन्तरले मात्रै जित निकाले । सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्रले ७ हजार १८ मत ल्याएका थिए ।

त्यसैगरी, स्वतन्त्र उम्मेदवार पुकार बम ४ हजार ११५ मतसहित तेस्रो स्थानमा रहे भने एमालेका किरण पौडेल ३ हजार ५३२ मत सहित चौंथो स्थानमा सीमित भए । यो नतिजाले काठमाडौं–१ मा कांग्रेसको मत आधार खुम्चिँदै गएको र वैकल्पिक शक्तिहरूको आकर्षण बढ्दो क्रममा रहेको स्पष्ट संकेत दिएको छ । कांग्रेसको खस्किँदो जनाधारसँगै निरन्तर निर्वाचन जितेका नेता सिंह यसपटक प्रतिष्पर्धाको रिङबाट आउट भएका छन् । उनको स्थानमा कांग्रेसले प्रवल थापालाई उम्मेदवार बनाएको छ ।

२०८२ को निर्वाचनमा पनि काठमाडौं–१ मा मुख्य प्रतिस्पर्धा फेरि कांग्रेस र राप्रपाकै बीचमा केन्द्रित हुने देखिन्छ । राप्रपाले यसपटक पनि रविन्द्र मिश्रलाई नै उम्मेदवार बनाइसकेको छ । मिश्रका लागि यो तेस्रो संसदीय चुनाव हो । २०७४ मा उनी विवेकशील साझा पार्टीबाट यही क्षेत्रबाट उम्मेदवार बनेका थिए भने २०७९ मा राप्रपाको तर्फबाट चुनाव लडेका थिए ।

मिश्रको निरन्तर उपस्थितिले सहरी, मध्यमवर्गीय र वैचारिक रूपमा असन्तुष्ट मतदातामा राप्रपाको पकड विस्तार हुँदै गएको देखिन्छ । विशेषगरी २०७९ मा सिंहलाई अत्यन्तै नजिकको प्रतिस्पर्धामा पु¥याउन सफल मिश्रले यसपटक कांग्रेस किल्ला भत्काउने मनोवैज्ञानिक आधार बलियो बनाएको स्थानीय विमल घिमिरेले बताए । 

‘राप्रपाका उम्मेदवार मिश्र पछिल्लो डेढ दशकदेखि उक्त क्षेत्रमा खटेका छन् । यो उनको सकारात्मक पाटो हो । तर नयाँ र युवा थापाको प्रवेशले उक्त क्षेत्रको मत परिणाममा प्रभाव पार्न सक्छ,’ घिमिरेले भने ।

पछिल्ला निर्वाचन परिणामहरू हेर्दा काठमाडौं–१ मा एमालेको प्रभाव क्रमशः कमजोर हुँदै गएको देखिन्छ । तर यसपटकको निर्वाचनमा एमालेले मोहन रेग्मीलाई उम्मेदवार बनाएर दमदार पुनरागमन गर्न चाहेको छ । अघिल्लो निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी समेत बन्न नसकेको एमालेले यसपटक रेग्मीमार्फत केही आशा जगाउला यसै भन्न सकिदैन घिमिरेले जानकारी दिए ।

निर्वाचन २०८२ लाई फरक बनाउने तत्व भनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवेश हो । रास्वपाले यस क्षेत्रबाट रञ्जु दर्शनालाई उम्मेदवार बनाएसँगै चुनावी समीकरणमा नयाँ मोड आएको छ ।

दर्शनाको राजनीतिक पृष्ठभूमि, सहरी छवि, युवा पुस्तामाझको लोकप्रियता र पुरानो राजनीतिको दिक्कताले मतदातालाई प्रतिनिधित्व गर्ने शैलीले त्रिकोणात्मक प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । उनी विवेकशील साझा आन्दोलनबाट उदाएकी नेतृ हुन् । जसले राजधानी केन्द्रित वैकल्पिक राजनीतिमा छुट्टै पहिचान बनाएकी छन् ।

कांग्रेस र राप्रपाबीच कडा प्रतिस्पर्धा भइरहँदा मत विभाजनको अवस्था सिर्जना भएमा रास्वपा डार्क हर्सका रूपमा उदाउने सम्भावना प्रबल देखिन्छ । विशेषगरी कांग्रेसले गर्ने निर्वाचन अभियानले मत परिणाममा प्रभाव पार्न सक्ने स्थानीय अमर कुँवरले बताए ।

युवा, शिक्षित र सहरी मतदातामा रास्वपाको आकर्षण बढ्दो क्रममा रहेकाले काठमाडौं–१ मा उनीहरूको मत निर्णायक तहसम्म पुग्न सक्ने विश्लेषकहरूको आँकलन छ । २०७९ मा स्वतन्त्र उम्मेदवारले पाएको उल्लेख्य मत यसपटक रास्वपातर्फ सर्न सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन ।

Share News