सुनको मूल्य तोलाकै ३ लाख नाघ्यो, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले आज नयाँ कीर्तिमान बनाएको छ । अन्तरराष्ट्रिय बजारमा देखिएको तीव्र उतारचढावको प्रभावस्वरूप शुक्रबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ९ हजार २ सय रुपैयाँले बढ्दै छापावाल सुन ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ३ सय २० रुपैयाँले बढेर छ हजार १९० कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ५ हजार ९ सय २० रुपैयाँमा सीमित थियो । मङ्गलबार सुनको मूल्य २ लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी पाँच हजार ८ सय ८० रुपैयाँ रहेको थियो । 

गत आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ८ सय  र चाँदी ५ हजार ६ सय २५ मा कारोबार भएको महासङ्घले जनाएको छ । सोमबार सुन रु दुई लाख ८२ हजार र चाँदी ५ हजार ८ सय १० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔंस चार हजार ९६० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतिऔंस ९८ अमेरिकी डलर पुगेको छ । 

Share News