रुपन्देही २ मा थापाको उम्मेदवारी फिर्ता

काठमाडौं । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)की उम्मेदवार कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । 

शुक्रबार उनले एक विज्ञप्ति जारी गर्दै अध्ययनको सिलसिलामा अमेरिकामा स्थायी आवास अनुमति पत्र लिएकाले फिर्ता लिएको बताएकी छन् ।

थापाले विज्ञप्तिमा भनेकी छन्, ‘उम्मेदवारी दर्ता गरेपछि परित्याग गरे पनि हुने भन्ने मेरो बुझाइ थियो । आजको दिनसम्म मैले कुनै पनि अन्य देशको नागरिकता वा राहदानी लिएकी छैन । आजको मितिसम्म मेरो नेपाली राहदानी मात्र छ । तर पछि मलाई नेपालको संविधानको धारा २९१ अनुसार कार्ड परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने व्यवस्था रहेको जानकारी भयो। देशको संविधानलाई स्वीकार गर्नु हामी सबैको कर्तव्य हो भन्ने निष्कर्षमा पुगेकी छु ।’

थापाले विरोध र उजुरी नपरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले फिर्ता लिएको उल्लेख गरेकी छन् । 

‘संविधानको मर्म र भावनाअनुसार मैले ठूलो मन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी छु,’ उनले अगाडि भनेकी छन् ।

null

Share News