काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति अझै सुरु हुन सकेको छैन । पार्टी केन्द्रीय कार्यालय, सानेपामा आज अपरान्ह १ बजे बस्ने भनिएको बैठक बस्न नसकेको हो ।
विशेष महाधिवेशनपछि पहिलोपटक सानेपामा बैठक बस्न लागेको हो ।
‘बैठक अबको केही समयपछि बस्ने तयारी भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
आजको बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूका साथै सातै प्रदेशका कार्यसमिति सभापतिहरूलाई पनि सहभागी गराइने भएको छ । आजको बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनाबारे छलफल हुने पार्टी प्रवक्ता चालिसेले जानकारी दिए ।
पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो । सोही कार्यसमितिका पदाधिकारीहरूले आज औपचारिक रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
विशेष महाधिवेशनपछि यसअघि केन्द्रीय कार्यसमिति बैठकहरू कुपन्डोल र नयाँ बानेश्वरस्थित विभिन्न स्थानमा बसेका थिए । तर आजको बैठक भने पार्टीको केन्द्रीय कार्यालयमै बस्न लागेको हो ।