कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्री उम्मेदवार घोषणा ग‍र्‍यो

कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।

विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि शुक्रबार (आज) बसेको केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे सर्वसम्मतिले निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

बैठकमा पार्टीका केन्द्रीय र प्रदेश सभापतिसहितका नेता उपस्थित थिए । पार्टीका नेताहरूले आगामी आम निर्वाचन २०८२ मा कांग्रेसको विजय सुनिश्चित गर्न प्रधानमन्त्रीको उम्मेदवार चयन महत्त्वपूर्ण भएको बताएका छन्।

कांग्रेसले आगामी निर्वाचनमा केन्द्र सरकारको नेतृत्वको दाबीलाई सुदृढ बनाउन आफ्नो रणनीति तय गरेको चालिसेले दाबी गरे ।

विशेष महाधिवेशनपछि पहिलोपटक बसेको बैठकमा आगामी निर्वाचनको तयारी, निर्वाचन अभियानको दिशा, पार्टीको नीति तथा कार्यसूचीका विषयमा समेत छलफल भएको थियो ।

बैठकले निर्वाचनमा कांग्रेसको बलियो उपस्थितिका लागि सबै प्रदेश तथा स्थानीय तहमा समन्वयात्मक योजना अघि बढाउने निर्णय गरेको छ ।

Share News