गृहमन्त्री अर्यालको निर्देशन- सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानुनी दायरामा ल्याउनू

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसहितको टोलीले नेपाल प्रहरीको साइबर ब्यूरो र हनुमानढोकामा अवस्थित पुरानो काठमाडौं प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकन गरेका छन् ।

गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्लेसहितको टोलीले भोटाहिटीस्थित साइबर ब्यूरो पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका थिए । 

गृहमन्त्री अर्यालले प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालबाट हुन सक्ने अमर्यादित र कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार वा जानकारीहरूलाई सूक्ष्म ढंगले अनुगमन गर्नुपर्ने बताए।  

अवैधानिक र दर्ता बिनै सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूको नियमनका लागि खेल्नु पर्ने भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

ब्यूरोबाट नियमित र विशेष रूपमा प्रदान गरिने सेवाबारे ब्यूरो प्रमुख तथा प्रहरी नायव महानिरीक्षक नबिन्द अर्यालबाट जानकारी लिएका थिए । 

ब्यूरोले निर्वाचनको समय अझै बढी सक्रिय भई स्वचालित रूपमा कार्यालय आफै सक्रिय भएर सामाजिक सञ्जालमा राखिने र छरिने भ्रमहरूलाई माथिको आदेश कुर्न नपर्ने र अवैधानिक पोस्ट तथा मिथ्या जानकारीहरूलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन अर्यालले निर्देशन दिए । 

समाजमा सामाजिक सद्भावमा खलल पुर्याउने कार्यमा सामाजिक सञ्जालको दुरुपयोग हुन नदिई फागुन २१ गतेको निर्वाचनको माहौल बनाईराख्न पनि ब्युरोले अहिले गरेको कार्यमा थप तदारुकताका साथ काम गर्नु पर्नेमा मन्त्री अर्यालले जोड दिए ।

Share News