काठमाडौं । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा ‘नागरिक बचाउ महाअभियान’अन्तर्गत ऋणी एशोसिएशनका केन्द्रीय संयोजक देवीप्रसाद संग्रौलालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
झापाको अर्जुनधारा नगरपालिका-११ घर भएका ४४ वर्षीय संग्रौलाले युट्युब च्यानललगायतका माध्यमबाट बैंकका कर्मचारीलाई कुटपिट गर्नुपर्ने र ‘भण्डारखाल’ जस्तो काण्ड मच्चाउनुपर्ने भन्दै अभिव्यक्ति दिएका थिए ।
सार्वजनिक शिष्टाचार र नैतिकता विपरीत हिंसा दुरुत्साहन गर्ने अभिव्यक्ति दिएपछि ब्यूरोले उनलाई कार्यालयमै झिकाएर सोधपुछ गरेको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।
प्रहरी समक्ष बयान दिने क्रममा संग्रौलाले कानुनी राज्यको उल्लङ्घन गर्दै बैंक विरुद्ध बोल्नु आफ्नो गल्ती भएको स्वीकार गरेको प्रवक्ता अवस्थीले बताए । पक्राउ संग्रौलाले आगामी दिनमा कानुनलाई शिरमा राखेर बोल्ने र समाज तथा राज्यलाई असर गर्ने अभिव्यक्ति नदिने प्रतिबद्धता जनाउँदै नेपाल सरकारसँग लिखित रूपमा माफी मागेको ब्यूरोले जनाएको छ ।
प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा कानुन विपरीतका अभिव्यक्ति दिने र श्रव्य दृश्य सामग्री प्रसारण गर्ने माथि निगरानी बढाएको छ ।