काठमाडौं । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ३८ अर्ब २१ करोड रुपैयाँ का वस्तु तथा सामान आयात भएको छ । गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५.३० प्रतिशतले बढी आयात भएको हो । जबकी गत आवको ६ महिनामा भने ३ खर्ब ८० अर्ब ६ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान भित्रिएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ६ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए ।
चालु आवको छ महिनामा ९० अर्ब ६ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ । ३९ अर्ब ३ करोड रुपैयाँ पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । चालु आवको छ महिनामा ३० अर्ब १ करोड रुपैयाँ पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २७ अर्ब ७२ करोड रुपैयाँ पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।
सोही अवधिमा २४ अर्ब ६१ करोड रुपैयाँ पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै १९ अर्ब ४ करोड रुपैयाँ पर्ने कपडाहरु आयात भएका छन् ।