काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध भई कार्यरत अभिकर्ताहरूलाई एकदिने व्यावसायिक तालिम प्रदान गरेको छ ।
कम्पनीले प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको अवधारणासहित सञ्चालन गरेको मासिक योजना 'मन्थन २०८२' अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनोट भएका १२० जना अभिकर्तालाई इलामको फिक्कलस्थित होटल एकोममा तालिम दिइएको हो । तालिम अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले प्रदान गरेका थिए । उनले बीमा क्षेत्रको प्रतिष्ठित उपाधि एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायबारे विभिन्न उदाहरणसहित अभिकर्ताहरूलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताको पेशागत क्षमता अभिवृद्धिका लागि कम्पनीले निरन्तर रूपमा विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । सोही उद्देश्यका साथ मासिक योजना ‘मन्थन २०८२’ अघि बढाइएको उनको भनाइ थियो ।
त्यस अवसरमा कोशी प्रदेशका विभिन्न शाखामा उत्कृष्ट कार्य गरी शाखास्तरीय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल अभिकर्ताहरूलाई पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गरेकी थिइन् ।
तालिममा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट सिक्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए । सम्मानित अभिकर्ताहरूले पनि आफूले गरेको मेहनतको कदर भएको महसुस भएको प्रतिक्रिया दिएका थिए ।