काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गरेको छ । आइतबतार (आज)बाट सुरु भएको यो मेला १७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।
मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर ल्याएर नयाँ बजाज मोटरसाइकलसँग साट्न सक्ने बजाज शोरुम टेकुका सुमन प्रसाईंले जानकारी दिए ।
‘हामीले विभिन्न भ्यालुएटरहरूको माध्यमबाट पुराना बाइकको बजारकै उत्कृष्ट मूल्यांकन दिइरहेका छौं ताकि ग्राहकले आफ्नो साधनको उचित मूल्य पाउन सकून्,’ उनले भने ।
एक्सचेन्ज मेलामा नयाँ बाइक खरिद गर्दा ग्राहकले ७ हजार रुपैयाँदेखि ८ हजारसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै हेल्मेट र लेग गार्डजस्ता आवश्यक एक्सेसरीजहरू पनि निःशुल्क प्रदान गरिनेछ ।

मेलामा सहज फाइनान्सको पनि व्यवस्था गरिएको छ । ग्राहकले न्यूनतम ४० प्रतिशत डाउन पेमेन्ट गरेर नयाँ बाइक खरिद गर्न सक्नेछन् । ४० प्रतिशत डाउन पेमेन्टमा १२.९९ प्रतिशत, ५० प्रतिशतमा ११.९९ प्रतिशत र ६० प्रतिशत डाउन पेमेन्टमा ९.९९ प्रतिशतको आकर्षक ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध छ । कम्पनीका अनुसार आवश्यक कागजात पूरा भएको अवस्थामा केवल ४५ मिनेटभित्रै फाइनान्स प्रक्रिया सम्पन्न हुनेछ ।
नयाँ पल्सर २२० एफ मुख्य आकर्षण
मेलाको मुख्य आकर्षणको रूपमा नयाँ पल्सर २२० एफ रहेको छ । नयाँ अपडेटसहित सार्वजनिक भएको यो मोडलमा फ्युल इन्जेक्सन, बीएस ६ इन्जिन, र ब्लुटुथ कनेक्टिभिटीसहितको स्मार्ट मिटर जस्ता अत्याधुनिक फिचरहरू छन् । यो विभिन्न नयाँ र आकर्षक रङहरूमा उपलब्ध छ ।
यसबाहेक मेलामा प्लाटिनादेखि डोमिनार ४०० सम्मका सबै मोडल, एन-सिरिजका नयाँ बाइकहरू र चेतक इलेक्ट्रिक स्कुटर पनि उपलब्ध छन् । मेला सुरु भएसँगै ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको छ ।
