काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।
सोमवार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ८ लाख ५४ हजार ८०० मतपत्र छपाइ सम्पन्न भएको हो ।
भण्डारीले प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य आजदेखि सुरु भएको समेत जानकारी दिए ।
अबको १५ दिनभित्र मतपत्र छपाइको कार्य सम्पन्न हुने र क्रमशः निर्वाचन केन्द्रमा ढुवानी गरिने उनको भनाइ छ ।
उनले भने, ‘समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ८ लाख ५४ हजार ८०० मतपत्र छपाइ गर्ने कार्य सम्पन्न गरिसकेका छौं । र पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र आजबाट छपाइ सुरु भएको छ । यो छपाइ कार्य १५ दिनभित्र सकिन्छ ।’
भण्डारीले अगामी फागुन ५ भित्र मतदान क्षेत्र र मतदानस्थलमा मतपत्र पुगिसक्ने पनि बताए ।