काठमाडौं । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १ अर्ब १६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । साथै चीनबाट सामान बोकी आएका करिब २०० वटा माल वाहक कन्टेनरका सामग्रीको परीक्षण कार्य भइरहेको कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएको ढुङ्गा, बालुवा हटाउने कार्य नेपाल इन्टरमोडल यातायात विकास समितिमार्फत भइरहेको उनको भनाइ छ । उनका अनुसार हालसम्मको सरसफाइबाट करिब २५० वटा ट्रक अट्ने वातावरण बनेको छ भने केही भागमा अझै सफाइ कार्य बाँकी छ ।
७४औँ भन्सार दिवसका अवसरमा उत्कृष्ट कार्य गर्ने २ जना व्यवसायी र ४ जना कर्मचारीलाई कार्यालयले सम्मान गरेको छ । व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा राज्यलाई ३ अर्ब २१ करोड रुपैयाँ राजस्व बुझाउने सिजी मोटर सप्लायर्स तथा ७४ करोड रुपैयाँ बराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स, काठमाडौंलाई सम्मान गरिएको हो ।
कर्मचारीतर्फ नायब सुब्बा रमेश ज्ञावली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारी चालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेश दत्त जोशीलाई सम्मानपत्र प्रदान गरिएको छ ।
रसुवागढी नाकालाई नीतिनियमअनुसार सञ्चालन गर्दै उत्तरी नाकाको गरिमा अझ उच्च बनाउन सबैपक्ष जिम्मेवार बन्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए । साथै सडक सुधार कार्ययोजना सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीन सरकारको सहयोगमा सुधार हुन लागेको सडकको पहिलो चरणमा असहज मोडहरू सिधा बनाउन सवारी चालकले माग गरेका छन् ।