अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा व्यवसायी र कर्मचारी सम्मानित
काठमाडौं । मुस्ताङ भन्सार कार्यालयले व्यवसायी र कर्मचारीलाई सम्मान प्रदान गरेको छ । नेपाल-चीन उत्तरी कोरला नाका स्थित लोमान्थाङ-२ छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालयले ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा व्यवसायी र कर्मचारीलाई सम्मान प्रदान गरेको हो ।
जोमसोममा एक कार्यक्रम गरी कार्यालयका कम्प्युटर अपरेटर ओमप्रकाश महतोलाई सम्मान गरिएको छ । कठिन भूगोलमा रहेर लगनशील र कर्तव्यनिष्ठ भएर सेवाग्राही मैत्री कार्यसम्पादन गरेको भन्दै उनलाई भन्सार विभागले सम्मान अर्पण गरेको हो ।
कार्यक्रममा पुस मसान्तसम्म मुस्ताङ भन्सारबाट धेरै मूल्यको मालवस्तु निकासी गर्ने अष्ठ मङ्गल प्राइभेट कम्पनी र पैठारी गर्ने मेनल्यान्ड सिपिङ एण्ड लजिस्टिक कम्पनीलाई सम्मान गरिएको छ ।
साथै मुस्ताङ भन्सारबाट गत भदौ ३१ गतेदेखि हालसम्म बिवाईडी ब्राण्डका सवारी साधन बिक्री गर्ने साइमेक्स इन्क प्रालिले ४ अर्ब २३ करोड ४२ लाख रुपैयाँको मालवस्तु पैठारी गरेको र निकासीतर्फ अष्टा मङ्गल कम्पनीले ६ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार गरेको कार्यालयले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भन्सार कार्यालयलाई थप गतिशील र सेवा मैत्री तुल्याउन आवश्यक रहेको बताए । भन्सार सेवालाई थप प्रभावकारी, जिम्मेवार र उत्तरदायी बनाउँदै थप सुधार गर्नुपर्ने र त्यसका लागि प्रविधिमा जोड दिनुपर्ने उनको भनाइ छ । माथिल्लो मुस्ताङस्थित न्हेचुङमा २०१३ सालमा भन्सार कार्यालय स्थापना भएको बताए ।
कार्यालयका निमित्त भन्सार प्रमुख रमेश खड्काले पछिल्लो समय सडक स्तरोन्नितिसँगै नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याइएपछि राजस्व वृद्धिका साथै व्यवसायीलाई समेत निकै सहज भएको बताए । कार्यक्रममा व्यवसायी प्रभु अधिकारी, मुस्ताङ उद्योग वाणिज्य सङ्घका सचिव तिलक विक लगायतले नाका पूर्ण सञ्चालनमा आए पनि व्यवस्थापनमा अझै सुधार गर्दै जानुपर्ने आवश्यकता औंल्याए ।
गत भदौ ३१ गतेबाट पूर्ण रूपमा सञ्चालनमा आएको यस नाकाबाट हालसम्म ५ अर्ब ५४ करोड ३ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको निमित्त प्रमुख खड्काले जानकारी दिए ।