काठमाडौं । निर्वाचन आयोगले १० दिनमा विभिन्न राजनीतिक दलका उम्मेदवार र संस्था गरेर १५ जनालाई स्पष्टीकरण सोधेको छ । मंगलबार (आज) मात्र आयोगले प्रतिनिधि सभा सदस्यका विभिन्न उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो ।
हालसम्म स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बालेन्द्र साह (बालेन), भक्तपुर–२ मा नेकपा एमालेबाट उम्मेदवार रहेका महेश बस्नेत, सुनसरी–१ मा श्रम संस्कृति पार्टीबाट उम्मेदवार रहेका हर्कराज राई (हर्क साम्पाङ), रुपन्देही–२ मा जनसेवा पार्टीबाट उम्मेदवार रहेका कमल भुसाल (निकोलस), भक्तपुर–२ मा जनसेवा पार्टीबाट उम्मेदवार जानुका पाठक (शोभा) रहेका छन् ।
आज मात्रै बालेन शाह, हर्क साम्पाङ, महेश बस्नेत र जानुका पाठकलाई स्पष्टिकरण सोधिएको निर्वाचन आयोगका निर्वाचन आचारसंहिता अनुगमन शाखाका अधिकृत विष्णु पौडेलले जानकारी दिए । सबै उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उनले बताए ।
त्यसैगरी, स्वास्थ्य स्वयंसेवक संघ र आधारभूत विद्यालयलाई पनि सरुवा गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।
आयोगका अनुसार रास्वपा वरिष्ठ नेता बालेनले सामाजिक सञ्जालमार्फत झापा–५ मै उम्मेदवार रहेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अमर्यादित शब्द प्रयोग गरेर दिएको अभिव्यक्तिका कारण स्पष्टीकरण सोधिएको हो ।
एमाले सचिव बस्नेतलाई बालेनले बोलेको मैथिली भाषाको शब्द ‘छौरा’बारे अनर्गल व्याख्या गरेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । उता हर्क साम्पाङलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको र टी–सर्ट लगाउन लगाएको विषयमा उजुरी परेको आयोगले बताएका छ ।
त्यसैगरी, निकोलस भुसालले जेनजी आन्दोलनमा रगतले लतपतिएको जुत्तालाई चुनाव चिह्नसरह प्रयोग गरी प्रचार गरेको आरोपमा उजुरी परेको थियो । सोही कारण उनलाई आयोगले स्पष्टिकरण सोधेको हो ।
त्यस्तै, शोभा पाठकले एमाले सचिव बस्नेत र एमाले विरुद्ध घृणाजन्य अभिव्यक्ति दिँदै ‘हत्यारा’ र ‘बलात्कारी’जस्ता शब्द प्रयोग गरेकामा आयोगले स्पष्टिकरण सोधेको छ ।
आयोगले दोलखाबाट उम्मेदवार बनेका रास्वपाका जगदीश खरेललाई पनि स्पष्टिकरण सोधेको थियो ।
गत बिहीबार आयोगले दोलखाबाट उम्मेदवार बनेका खरेललाई निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।