काठमाडौं । डोल्पामा विभिन्न राजनीतिक दलका प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दिलबहादुर विष्ट र जुनु भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
मंगलबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै विभिन्न दल त्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या बढिरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
पार्टीमा नयाँ प्रवेशको लहर चलेको बताए । ‘अन्य दलका उम्मेदवार, समर्थक तथा कार्यकर्ताहरूको पार्टी प्रवेश निरन्तर बढिरहेको छ,’ प्रवक्ता चालिसेले भने ।
निर्वाचन प्रचारमा पार्टीका नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिएर जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिने उनको भनाइ छ ।
त्यसैगरी, कांग्रेसले पार्टी कार्यालयमा निर्वाचन प्रचारप्रसारको विषयलाई लिएर नियमित पत्रकार सम्मेलन गर्ने भएको छ ।
दुई दिनमा अपरान्ह ४ बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार संवाद कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने भएको हो ।