काठमाडौं । युवराज सफल भनेर चिनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्तालाई विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल मार्फत नकारात्मक, अपशब्द र गालीगलौज गरेकाले पौडेललाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
पौडेलले विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी भिडियो बनाएका र अन्तर्वार्तामा झुटा आरोप लगाएका थिए ।
पौडेललाई कानुन बमोजिम आवश्यक कारबाही गरिदिन महान्यायाधिवक्ताको कार्यालयले प्रहरीलाई अनुरोध गरेको थियो ।
महान्यायाधिवक्ता कार्यालय र माननीय महान्यायाधिवक्ताको बारेमा तथ्यहीन कुराहरूको भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको देखिएकाले पौडेललाई पक्राउ गरिएको हो ।
काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।