काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै २१ माघदेखि विशेष रणनीति लागू गर्ने भएको छ ।
निर्वाचन केन्द्रित संगठनात्मक सक्रियता बढाउने उद्देश्यसहित पार्टीले देशव्यापी रूपमा पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारीसहित मैदानमा खटाउने तयारी गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका जिम्मेवारीमा रहेका कांग्रेसका पदाधिकारी र सदस्यहरू २१ माघदेखि २१ फागुनसम्म आ–आफ्नो जिम्मेवारी क्षेत्रमै रहेर संगठन सुदृढीकरण, मतदाता समन्वय र चुनावी तयारीमा सक्रिय रहनेछन् ।
प्रवक्ता चालिसेका अनुसार स्थानीय तहसम्म संगठनलाई चुस्त बनाउँदै कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार र चुनावी सन्देश प्रभावकारी रूपमा प्रवाह गर्नु नै विशेष रणनीतिको मुख्य लक्ष्य हो ।
यस अभियानलाई कांग्रेसले आगामी निर्वाचनको आधार तय गर्ने निर्णायक चरणका रूपमा लिएको प्रवक्ता चालिसेले जानकारी दिए ।