रवि लामिछानेलाई के भएको हो ? सामाजिक सञ्जालमा भेटिएको फोटो वास्तविक होइन

जनकपुरको चुनावी सभालाई सम्बोधन गर्दै रवि लामिछाने । त्यसपछि उनी चुनावी गतिविधिमा देखिएका छैनन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सेलुलाइटिस भएको छ । 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले औषधी सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले मंगलबार हाडजोर्नी विभाग अन्तर्गत भर्ना भएको जनाएको छ ।

लामिछानेलाई गत ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषधी सेवन गर्दा पनि सन्चो भएको थिएन । 

उनलाई नशाबाट आईभी एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईले जानकारी दिए ।

लामिछानेको अवस्था सामान्य रहेको र सामाजिक सञ्जालमा भेटिएका फोटोहरू अस्पतालको नरहेको उनले जानकारी दिए । उनका अनुसार सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्बिर एआईबाट बनाइएको हो । 

सभापति लामिछाने पछिल्लो समय रास्वापाले अन्तिम पटक मधेसमा गरेको जागरण सभादेखि देखिएका छैनन् । उनले चितवनको २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । गत निर्वाचनमा उनी दुवै पटक सोही क्षेत्रबाट विजयी बनेका थिए ।

चोटका कारणले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोसमेत गर्न सकेका छैनन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह यतिखेर देश दौडाहामा लागिरहेका छन् ।

Share News