काठमाडौं । सर्लाही जिल्लाको गोडैता नगरपालिकाका चार जना वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
गोडैता नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, वडा नम्बर २ का अध्यक्ष अजयप्रसाद शाह, वडा नम्बर ५ का अध्यक्ष प्रकाश गुप्ता र वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेको कांग्रेस नेता रघु कार्कीले जानकारी दिए ।
कांग्रेस सभापति गगनकुमार थापाले उनीहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरे ।
सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् ।
कार्कीका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका ३ केन्द्रीय सदस्यसहित ५०० नेता कार्यकर्ता भोलि (बिहीवार) पार्टी प्रवेश गर्दैछन् ।
गत स्थानीय तह निर्वाचनमा वडा नम्बर १ र २ का अध्यक्ष नेकपाबाट निर्वाचित भएका थिए भने वडा नम्बर ५ का अध्यक्ष जनता समाजवादी पार्टी र वडा नम्बर ११ का अध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
फरक–फरक दलबाट निर्वाचित वडाध्यक्षहरू एकैसाथ कांग्रेस प्रवेश गरेपछि सर्लाहीको स्थानीय राजनीति थप रोचक बनेको कार्कीले जानकारी दिए ।