काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ ।
निर्वाचन आयोगका पदाधिकारीहरूले बुधबार (आज) राष्ट्रपति भवन शीतलनिवासमा पुगेर निर्वाचन प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा निर्वाचन प्रक्रिया, मतदानको अवस्था तथा अन्तिम परिणामसम्बन्धी विवरण समेटिएको छ । माघ ११ गते सम्पन्न निर्वाचनमा २ करोड ४० लाख ६६ हजार खर्च भएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भएको तथा निर्वाचनका विविध विषय प्रतिवेदनमा समेटिएको आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।