काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि चुनावकेन्द्रित विभिन्न समितिहरू गठन गर्न प्रदेश, जिल्ला र क्षेत्रीय तहका १६५ वटै कार्यसमितिलाई परिपत्र गरेको छ ।
पार्टीका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले बुधबार (आज) विभिन्न निकायहरूलाई चुनावी समिति गठन गर्न निर्देशन दिदै परीपत्र गरिएको प्रवक्ता देवराज चालीसेले जानकारी दिए।
उनले परिपत्रमार्फत निर्वाचन अभियान व्यवस्थित गर्न सबै तहमा समितिहरू र संरचनाहरू तत्काल गठन गर्न आग्रह पनि बताए ।
परिपत्रमा कांग्रेसले निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचार प्रसार मूल समिति र स्थानीय तह समन्वय समिति गठन गर्न निर्देशन गरेको छ ।
यसैगरी, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक संघसंस्था समन्वय समिति, धार्मिक संघसंस्था समन्वय समिति र निजी क्षेत्र समन्वय समिति पनि कांग्रेसले गठन गर्ने जनाइएको छ ।
कांग्रेसले हालै १६५ क्षेत्रमै आफ्ना उम्मेदवारको प्रचारप्रसार गर्न चुनावी तयारीलाई तीव्र पार्नसमेत निर्देशन गरेको छ ।