काठमाडौं । नेपाल बिल्डकनको एघारौँ संस्करण यही माघ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
राष्ट्रको पहिलो र एकमात्र निर्माण क्षेत्रमा केन्द्रित अन्तर्राष्ट्रिय प्रदर्शनी बिल्डकनको यस संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्ड सहभागी हुने भएका छन् । २०० भन्दा धेरै स्टल राखिने यस प्रदर्शनीमा आफ्ना बस्तु तथा सेवाहरू प्रदर्शन गर्न पाउँदा व्यवसायी तथा उद्यमीहरू पनि उत्साहित रहेका छन् ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले विगत ११ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको नेपाल बिल्डकनले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामग्री तथा प्रविधिहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने साथै विदेशबाट आएका नवीनतम प्रविधि, सेवा र वस्तुहरू नेपालमा भित्राउने अवसर पनि प्रदान गरिन्छ ।
प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टाइल्स, स्यानिटरी वेयर, मोड्युलर किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, कन्स्ट्रक्सन केमिकल, पीभीसी/युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट, स्टिल लगायत निर्माणका सम्पूर्ण सामग्री र सेवाहरू उपलब्ध हुनेछन् ।
निर्माण क्षेत्रमा आवद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवाप्रदायक जस्ता सबै पक्षलाई समेटेको यस प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनी, व्यवसायी, डिज़ाइनर, ईन्जिनियर, आर्किटेक्ट र निर्माणसँग सम्बन्धित पेशामा आवद्ध व्यक्तिहरूको साथै निजी आवास, व्यापारिक कम्प्लेक्स र व्यवसायिक भवन निर्माण गर्न चाहने व्यक्तिहरू तथा सर्वसाधारणको पनि उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ ।
प्रदर्शनीको मुख्य प्रायोजक फ्लाईबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाई लुम्बिनी सेरामिक्स (लेमिनार टाइल्स) रहेको छ ।