काठमाडौं । नेपाली निर्माण सामग्री उद्योगमा प्राइम टायल्स नेपालकै पहिलो र एकमात्र एनएस प्रमाणित टायल कम्पनी बन्न सफल भएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले प्राइम टायल्सलाई ‘एनएस ६१७’ मापदण्ड पूरा गरेको भन्दै गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । यससँगै भित्ता (वाल) र भुइँ (फ्लोर) मा प्रयोग हुने टायल उत्पादनमा नेपाल गुणस्तर चिह्न प्राप्त गर्ने प्राइम टायल्स देशकै पहिलो उद्योग बनेको छ ।
विभागबाट प्राप्त उक्त प्रमाणपत्रले प्राइम टायल्सका उत्पादनहरू राष्ट्रिय गुणस्तर मापदण्डअनुसार कडा परीक्षण र प्रमाणीकरण भएको पुष्टि गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस उपलब्धिले उत्पादनको उच्च गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग तथा आधुनिक डिजाइनप्रतिको प्रतिबद्धता थप प्रमाणित गरेको छ ।
हाल प्राइम टायल्सका विभिन्न डिजाइन र आकारका टायलहरू घर, कार्यालय तथा ठूला व्यावसायिक भवनका लागि बजारमा उपलब्ध छन् । यो प्रमाणपत्र प्राप्तिसँगै नेपाली उपभोक्ताले अब विदेशी टायलमा निर्भर रहनु नपर्ने र स्वदेशी उत्पादनमै पूर्ण भरोसा गर्न सक्ने कम्पनीको विश्वास छ ।
करिब ३ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा रौतहटमा सञ्चालित यस उद्योगको वार्षिक उत्पादन क्षमता ४० लाख वर्गमिटर रहेको छ । सीएमएस र फर्च्युन भेन्चर्सजस्ता प्रतिष्ठित व्यावसायिक घरानाद्वारा प्रवर्द्धित यस कम्पनीले छोटो समयमै नेपाली बजारमा बलियो उपस्थिति बनाएको छ ।
हाल देशभर रहेका १२० भन्दा बढी आधिकारिक विक्रेता (डिलर) सञ्जालमार्फत प्राइम टायल्सका उत्पादनहरू ग्राहकसम्म पुगिरहेका छन् ।