काठमाडौं । बिहानै ५/६ बजे र राति १२ बजेपछि काठमाडौंका सडकहरूमा देखिने तीन/चार जनाको मोटरसाइकल टोली सामान्य यात्रु थिएनन् । न उनीहरू कुनै काम विशेषले मोटरसाइलमा हुइँकिँदै थिए नत कुनै सत्कर्मका लागि त्यति बिहान र अबेर राति सडकमा निस्किँदै थिए ।
उनीहरू त थिए—लुटपाटका लागि संगठित गिरोह । मर्निङ वाकमा निस्कने नागरिकदेखि सुनका सिक्री लगाएर हिँड्ने यात्रुसम्म उनीहरूको निशानामा पर्थे । यही गिरोहलाई काठमाडौं जिल्ला प्रहरी परिसरले गएराति मुलपानीबाट गोली हानेर पक्राउ गर्यो ।
गएराति लुटपाट गर्ने समूहलाई मूलपानीबाट गोली हानेर विनय तामाङसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी परिसरका प्रहरी प्रमुख रमेश थापाले प्रहरीको गोली लागेर विनय तामाङ घाइते भएको जानकारी दिए । उनका अनुसार तीव्र गतिमा चलाएर आएको मोटरसाइकल रोक्न खोज्दा प्रहरीलाई हानेर घाइते बनाएका थिए । तामाङलाई नियन्त्रणमा लिने क्रममा उनको तिघ्रामा गोली लागेको थियो ।

प्रहरी परिसरका प्रहरी प्रमुख रमेश थापा ।
लुटेराको समूहहरू विशेष गरी मोटरसाइकलमा हिँड्ने गरेको परिसरका प्रहरी प्रमुख थापाले बताए । ‘लुटेराहरू एउटा मोटरसाइकलमा ३–३ जना गरेर हिँड्ने गरेका थिए । १२ बजेदेखि बिहान ४ बजेसम्म उनीहरू सक्रिय थिए,’ उनले भने, ‘बिहानीको समयमा मर्निङ वाकमा हिँड्नेलाई उनीहरू लक्षित गरेर लुटपाट गर्ने गरेका थिए ।’
लुटेरा समूहको नाइके विनय रहेको थापाले जानकारी दिए । गोली लागेकालाई अस्पतालमा राखेर उपचार भइरहेको उनले बताए । ‘उनीहरू दिनभर टयाक्सी चलाउने र ९ बजेपछि एक ठाउँमा भेला हुने गरेको खुलेको छ,’ थापाले घटना सुनाउँदै भने, ‘उनीहरू ट्याक्सी र निजी कारमा गएर पनि लुटपाट गर्ने गरेका थिए ।’
तामाङ जेनजी आन्दोलनको क्रममा महाराजगञ्ज प्रहरी वृत्तबाट फरार थिए । उनले लुटेरा समूहको निर्माण गरेका थिए । दैनिक जसो को–को कहाँ गएर सक्रिय हुने भनेर उनैले टिम परिचालन गर्ने गरेका थिए ।
लुटेराहरूको पहिलो टार्गेट बाटामा हिँड्नेहरूले लगाएका सिक्री र टप लुटपाट गर्ने हुने गरेको थापाले जानकारी दिए । लुटपाट गर्ने अधिकांशको पृष्ठभूमि आपराधिक क्रियाकलाप रहेको उनले सुनाए ।

तामाको समूहहरू मोटरसाइकलमा लुटपाट गर्न जाँदा नम्बर प्लेटमा हिलो छयापेर जाने गरेका थिए । लुटेरामा संलग्नहरू काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका रहेका छन् ।
२३ वर्षीय विनय तामाङ चोरी र डाँकाको अभियोगमा मुद्दा खेपिरहेका थिए । २४ वर्षीय आयन माझीले लुटपाटमा चालकको रूपमा काम गर्ने गरेका थिए । उनी अन्य लुटपाट गर्नेहरूलाई ओसारपसार गर्ने कार्यमा संलग्न थिए । उनीमाथि पनि भक्तपुरमा डाँका चोरी मुद्दा चलिसकेको थियो ।
२३ वर्षीय मनिष रसाईली पनि लुटपाटमा मोटरसाइकलको चालक रूपमा थिए । उनले चोरेर ल्याएको सुनलाई गालेर बिक्री गर्ने गरेका थिए ।
२३ वर्षीय सविन माझी टयाक्सी र लुटपाट गर्दा मोटरसाइकल चालकको रूपमा थिए । २९ वर्षीय पेमा तामाङ मोटरसाइकलमा पछाडि बस्ने गरेका थिए । उनले लुटपाट गर्दा अरूको मुख थुन्ने गरेका थिए ।
२० वर्षीय सलोन तामाङ् र २२ वर्षीय विशाल तामाङ मोटरसाइकलमा पछाडि बसेर मुख थुनेर लुटपाट गर्न र १८ वर्षीय राजीव भण्डारी संलग्न थिए ।

२८ वर्षीय विदुर विश्वकर्मा भने लुटपाट गरेको सुन किन्ने गरेका थिए । २९ वर्षीय फुर्वा तामाङ पनि मोटरसाइकल चलाउने गर्थे ।
हालसम्म काठमाडौंको विभिन्न प्रहरी वृत्तमा २७ जना प्रहरीको सम्पर्कमा आएका आइसकेका छन् । बिहीबार मात्र प्रहरी परिसरमा ४ वटा उजुरी परेको परिसरका प्रहरी प्रमुख थापाले जानकारी दिए ।
लुटेराको समूहले बौद्ध, स्वयम्भू, गौशाला, सानो ठिमी, कोटेश्वर, कपन र बुढानीलकण्ठलगायतको स्थानमा लुटपाट गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।