काठमाडौं । नोक्सानीको दलदलमा फसेका फाइनान्स कम्पनी चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा नाफातर्फ फर्किएका छन् । चालु आवको ६ महिनाको अवधिमा फाइनान्स कम्पनीहरूले समग्रमा ३२ करोड १५ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जबकि गत वर्ष यही अवधिमा ६६ करोड २२ लाख ४८ हजार रुपैयाँ नोक्सानीमा थिया ।
यसले फाइनान्स क्षेत्र घाटाबाट नाफातर्फ फर्किएको संकेत गर्छ । तर यही नाफाको उत्साहसँगै फाइनान्सको बढ्दो खराब कर्जाले भने चिन्ताको विषय बनाएको छ ।
समीक्षा अवधिमा सेन्ट्रल फाइनान्सको नाफा सबैभन्दा बढी वृद्धि भएको छ । सेन्ट्रल फाइनान्सको नाफा ९६५ प्रतिशतले बढेर ३ करोड ९१ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यस्तै, गुडविल फाइनान्सको नाफा पनि ९६५ प्रतिशतले वृद्धि भई ११ करोड १७ लाख ८ हजार रुपैयाँ पुगेको छ भने मञ्जुश्री फाइनान्सले १५.६२ प्रतिशत वृद्धि गर्दै १३ करोड ५३ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
केही फाइनान्स कम्पनीको नाफा भने घटेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्सको नाफा १४.१० प्रतिशतले घटेर १ करोड २१ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । मल्टीपर्पस फाइनान्सको नाफा ३६.७६ प्रतिशत घटेर ७८ लाख ३४ हजार रुपैयाँ र आईसीएफसी फाइनान्सको नाफा ७०.६५ प्रतिशत घटेर ३ करोड २० लाख ३० हजार रुपैयाँमा झरेको छ ।
चालु आवको ६ महिनामा गोर्खाज फाइनान्सले ६ करोड १६ लाख ५७ हजार रुपैयाँ, पोखरा फाइनान्सले २ करोड ३३ लाख १५ हजार रुपैयाँ, बेस्ट फाइनान्सले १ करोड ७४ लाख ८५ हजार रुपैयाँ, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सले १ करोड ६८ लाख ४८ हजार रुपैयाँ, रिलायन्स फाइनान्सले १७ लाख २३ हजार रुपैयाँ र समृद्धि फाइनान्सले ११ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
तर, समीक्षा अवधिमा केही फाइनान्स कम्पनी भने अझै नोक्सानीमै छन् । नेपाल फाइनान्सले ८ करोड ७३ लाख ४९ हजार रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सले २ करोड ९२ लाख ५१ हजार रुपैयाँ र जानकी फाइनान्सले २ करोड २३ लाख ८३ हजार रुपैयाँ नोक्सानी व्यहोरेका छन् ।
खराब कर्जा ५५ प्रतिशतसम्म
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरूको खराब कर्जा (एनपीएल) औसत १.३७ प्रतिशतले बढेर १३.८६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा फाइनान्स कम्पनीहरूको औसत एनपीएल १२.४८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा सबैभन्दा उच्च खराब कर्जा जानकी फाइनान्सको देखिएको छ । चालु आवको पुस मसान्तसम्म जानकी फाइनान्सको एनपीएल ५५.२६ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ४०.८८ प्रतिशत थियो । एक वर्षको अवधिमा कम्पनीको खराब कर्जा १४.३८ प्रतिशत बिन्दुले बढेको हो ।

यस अवधिमा बेस्ट फाइनान्सको खराब कर्जा १०.०१ प्रतिशतले बढेर १३.८७ प्रतिशत पुगेको छ । नेपाल फाइनान्सको एनपीएल ६.२७ प्रतिशतले बढेर १६.७३ प्रतिशत पुगेको छ भने गोर्खाज फाइनान्सको ३.०४ प्रतिशतले वृद्धि भई १७.४६ प्रतिशत पुगेको छ ।
यस्तै, मल्टीपर्पस फाइनान्सको खराब कर्जा २.८५ प्रतिशतले बढेर ८.३० प्रतिशत, सेन्ट्रल फाइनान्सको २.२४ प्रतिशतले बढेर १४.१८ प्रतिशत, आईसीएफसी फाइनान्सको ०.४४ प्रतिशतले बढेर ३.५१ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ०.१२ प्रतिशतले बढेर ३.८३ प्रतिशत पुगेको छ ।
तर, समीक्षा अवधिमा ७ वटा फाइनान्स कम्पनीले भने आफ्नो खराब कर्जा घटाउन सफल भएका छन् । समृद्धि फाइनान्सको एनपीएल ११.१७ प्रतिशतले घटेर ८.१७ प्रतिशतमा झरेको छ । रिलायन्स फाइनान्सको खराब कर्जा ५.२२ प्रतिशतले घटेर ९.०९ प्रतिशत छ ।
त्यसैगरी, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सको एनपीएल १.२४ प्रतिशतले घटेर ६.९४ प्रतिशत, पोखरा फाइनान्सको ०.६७ प्रतिशतले घटेर ३२.७७ प्रतिशत, मञ्जुश्री फाइनान्सको ०.२२ प्रतिशतले घटेर ३.६४ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ०.१८ प्रतिशतले घटेर ७.३९ प्रतिशत र गुडविल फाइनान्सको ०.०७ प्रतिशतले घटेर ६.७ प्रतिशतमा झरेको छ ।