काठमाडौं । ललितपुरको गोदावरीमा श्रीमतीको हत्या गरेर श्रीमानले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । शुक्रबार गोदावरी ७ का ३० वर्षीय विनोद तामाङले श्रीमतीको हत्या गरेर टीकाभैरव प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
श्रीमान तामाङले श्रीमती २३ वर्षीया कोपिला नेपालीलाई चिरपट प्रहार गरी हत्या गरेको ललितपुर प्रहरी परिसरले जनाएको छ । मादक पदार्थ सेवन गरेर विवाद हुँदा श्रीमान तामाङ्ले श्रीमतीको हत्या गरेका थिए ।
हत्यापश्चात श्रीमान तामाङले प्रहरी चौकीमा आफै पुगेर जानकारी गराएका थिए ।
प्रहरी चौकी टीकाभैरब र प्रहरी वृत्त चापागाउँले घटनास्थल पुगी अनुसन्धान टोलीले शव जाँच गरेर मुचुल्का गरेको थियो ।
श्रीमान तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।