काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रूपमा रहेको रुकुम–पूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित रुकुम-पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले रुकुम–पूर्व नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उल्लेख गरे ।
पूर्वी–रुकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्दै उनले चुनवाङ बैठकले महिला, जनजाति, मधेसी, थारुलगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताए ।
चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको संयोजक दाहालको भनाइ छ । उनले रुकुम-पूर्वकै लवाङ बैठकमा पार्टीभित्र ऐतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गरे ।
हाल देश जेनजी आन्दोलनपछि जटिल अवस्थामा रहेको उनको भनाइ छ ।
राष्ट्रलाई एकतावद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई दिने र देशभर समाजवाद निर्माणको नयाँ सन्देश प्रवाह गर्न रुकुम-पूर्व उपयुक्त थलो भएको संयोजक दाहालले बताए ।