नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो माघ २२ देखि २५ गतेसम्म हुने

काठमाडौं । निर्माण तथा भवन सामग्री क्षेत्रको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’को एघारौँ संस्करण यस पटक स्वदेशी कम्पनीहरूको बढी सहभागितासहित आयोजना हुँदैछ ।  मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार एक्स्पो माघ २२ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपमा हुनेछ ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको आयोजनामा हुन लागेको यस संस्करणको मुख्य विशेषता स्वदेशी तथा विदेशी कम्पनीहरूको सहभागितामा आएको उल्टो अनुपात हो । विगतका वर्षहरूमा विदेशी कम्पनीहरू बढी रहने गरेकामा यस पटक नेपाली कम्पनीहरूको सहभागिता ६० प्रतिशत पुगेको छ भने विदेशी कम्पनीहरू ४० प्रतिशत मात्र रहेका छन् ।

प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई अपडेट गर्न तथा भिजिटरहरूलाई नयाँ जानकारी दिने लक्ष्य राखेको उनले बताए । यसका लागि विभिन्न आकर्षक कार्यक्रमहरू पनि राखिएका छन्, जसमध्ये भ्लगिङ कम्पिटिसन प्रमुख रहेको छ । नेपालका कन्टेन्ट क्रिएटर तथा भ्लगरहरूले प्रदर्शनी अवधिभर भ्लग तथा भिडियो बनाएर पोस्ट गरेमा उत्कृष्टलाई नगद पुरस्कार प्रदान गरिने छ । पहिलो पुरस्कार ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपैयाँ रहेको छ । यसको विस्तृत जानकारी आयोजकको फेसबुक पेजमा उपलब्ध रहेको भट्टराईले बताए ।

प्रदर्शनी माघ २२ देखि २५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ । प्रवेश निःशुल्क रहेको उनले जानकारी दिए । यो प्रदर्शनी निर्माण, आर्किटेक्चर, इन्टेरियर डिजाइन, भवन सामग्री, मेसिनरी तथा नवीन प्रविधिका लागि महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ ।

'नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोको एघारौँ संस्करणको विशेषता भनेकै स्वदेशी तथा विदेशी कम्पनीहरूको सहभागिता हो । नेपालमा फ्याक्ट्रीहरू सुरु भएर उत्पादन भएका सामग्रीहरू यहाँ प्रशस्त देख्न सकिन्छ,' उनले भने, 'टायल्स, टाउन हाउस, प्रि–फ्याब्रिकेटेड हाउस, फ्लोरिङजस्ता सबै क्षेत्रलाई समेटेका छौँ। यी क्षेत्रमा नयाँ के आएको छ भन्ने कुरा प्रदर्शनीमा देख्न सक्नुहुनेछ । हाम्रो लक्ष्य भिजिटरहरूलाई पहुँचमा ल्याउनु र यो प्रदर्शनीमार्फत नेपालको उद्योगलाई अपडेट गर्नु हो ।'

नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पोले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामग्री तथा प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने तथा अन्तर्राष्ट्रिय बजारमा प्रयोग भइरहेका नवीन प्रविधि, सेवा तथा वस्तु नेपालमा भित्र्याउने अवसरसमेत प्रदान हुँदै आएको छ ।

प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, फिटिङ्स, कन्स्ट्रक्सन केमिकल, पीभीसी तथा यूपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिललगायत निर्माणसम्बन्धी सम्पूर्ण सामग्री तथा सेवा उपलब्ध हुनेछन् ।

निर्माण क्षेत्रमा आबद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवाप्रदायक, डिजाइनर, इन्जिनियर, आर्किटेक्ट तथा निर्माणसम्बन्धी पेशामा आबद्ध व्यक्तिका साथै निजी आवास, व्यापारिक कम्प्लेक्स तथा व्यावसायिक भवन निर्माण गर्न चाहने व्यक्ति, संघ–संस्था र सर्वसाधारणको समेत प्रदर्शनीमा उपस्थिति रहने आयोजकले बताएका छन् ।    

Share News