काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सूर्यविनायक नगरपालिका-८ सिपाडोल स्थित गणेश माध्यमिक विद्यालयको खाली भवनमा ल्याब सञ्चालनमा ल्याइएको हो ।
प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको थियो । तर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि भक्तपुरमा स्थानान्तरण गरिएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले आफूले रगत परीक्षण गराएसँगै सोमबारदेखि सञ्चालनमा आएको बताए ।
रक्त परीक्षणसँगै मन्त्री थापामगरले भने, ‘ल्याबका लागि भवन निर्माण गर्न हामीले सिपाडोलको ‘भाइरल प्लानिङ’भित्र ५ रोपनी क्षेत्रफल जग्गा ल्याबका लागि उपलब्ध गराएका छौँ । जग्गा अभावले काभ्रेमा सञ्चालनमा आउन नसकी थन्किएको प्रयोगशाला भक्तपुरमा स्थानान्तरण गरेर सञ्चालनमा ल्याएका हौँ । अब ११ करोड रुपैयाँको लागतमा सोही जग्गामा अत्याधुनिक प्रयोगशालाको भवन निर्माण सुरु गर्छौं ।’
उनले जनस्वास्थ्य प्रयोगशालाले काठमाडौं उपत्यकालाई विशेष रूपमा केन्द्रित रहने भए पनि प्रदेशका १३ वटै जिल्लामा सेवा प्रवाह गर्ने बताउँदै यो प्रयोगशालाले सरकारी अस्पताल, निजी अस्पताल, निजी क्लिनिक तथा ल्याबमा सङ्कलन भएको रगतको परीक्षण गर्न सहज र निकै सस्तो पर्ने बताए ।
सेवाग्राहीले आफैँ प्रयोगशालामा आएर रगत परीक्षण गर्नसक्ने व्यवस्था गरेको बताउँदै उनले अत्याधुनिक ल्याबमा विदेशमा पठाउँदै गरेको विभिन्न सेवा यसै प्रयोगशालाले प्रदान गर्ने बताए । प्रयोगशालामा रगत परीक्षण गर्न आएका बिरामीले रिपोर्ट लिन पुनः आउनु नपर्ने र क्युआर कोर्डबाट सिधै मोबाइलमै रिपोर्ट पठाउने व्यवस्था गरिएको उनको भनाइ छ ।
विसं २०८२ माघ ८ को नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माणका लागि नेपाल सरकारका नाममा दर्ता रहेको भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका-८ साबिक नङ्खेल गाविस-१ मा १० रोपनी १ आना जग्गामध्येको ५ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि उपयोग गर्न स्वीकृत दिने निर्णय गरिसकेको मन्त्री थापाले जानकारी दिए ।
प्रयोगशालाको सुविधा सम्पन्न आधुनिक भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट विनियोजित भइसकेको बताउँदै उनले भवन विभागले एक वर्षभित्र नयाँ भवन निर्माण सम्पन्न गर्ने र त्यतिञ्जेल गणेश माविको पुरानै भवनमा प्रयोगशाला सञ्चालनमा आएको उल्लेख गरे ।
प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीले काभ्रेको धुलिखेलमा सञ्चालनमा ल्याउने गरी करिब ३० करोड रुपैयाँको लागतमा अत्याधुनिक उपकरण ल्याए पनि सञ्चालनमा नआउँदा कर्मचारी घाम तापेर बस्नु परेको बताए ।
धुलिखेलमा प्रयोगशालाका लागि जग्गा प्राप्त हुन नसक्दा अन्योलमा परेको बताउँदै निर्देशक कार्कीले भने, ‘भवन निर्माणका लागि जग्गा खोज्दा थाकिसकेका थियौँ, जग्गा नपाउँदा र स्थान नहुँदा करोडौंको मेसिन थन्किएको थियो । थापामगरको पहलमा पाँच रोपनी जग्गा पायौँ सुकुम्बासीबाट आफ्नै घर बन्ने भयो ।’
प्रयोगशाला कार्यालयले बागमती प्रदेशका १३ वटै जिल्लाभित्र सञ्चालित करिब २०० वटा ल्याबको निगरानी गर्ने, क्यान्सर जाँच, लिपिट प्रोफाइल, मिर्गौला/कलेजो, प्याङ्क्रियाजलगायत ९६ वटा नमुना परीक्षण गर्न सकिने उनले बताए ।
यसबाहेक पिसिआरबाट इन्फ्लुएञ्जा सर्भिलेन्स, एचआइभी भाइरस परीक्षण, टिबी जाँच, एचपिभी भाइरस जाँच, कोभिड परीक्षण, एएमआर सर्भिलेन्सलगायत परीक्षण गर्ने, ल्याब सञ्चालनको अनुमति दिने, नविकरण गर्ने, निगरानी गर्ने, अनुगमन गर्ने लगायत काम हुने उपनिर्देशक एवं मेडिकल ल्याब टेक्नोलोजिष्ट अनीलकुमार यादवले बताए ।