ट्राफिक र यातायात व्यवस्थापन सुधार्न समन्वय समिति गठन गरिने

काठमाडौं । सरकारले यातायात क्षेत्रमा देखिएका समस्या तथा नागरिकबाट आएका गुनासो सम्बोधन गर्न समन्वय समिति गठन गर्ने भएको छ । मंगलवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) नवराज अधिकारी, यातायात व्यवस्था विभाग र मन्त्रालयका सचिव केशवकुमार शर्माबीच भएको छलफलपछि समिति गठन गर्ने निर्णय गरिएको हो ।

छलफलमा यातायातसँग सम्बन्धित ट्राफिक सिग्नल, सडक किनारका संकेत चिन्ह, ट्राफिक व्यवस्थापनमा देखिएको समस्या लगायतका विषयमा छलफल भएको थियो । 

यातयात क्षेत्रमा बारम्बार जनगुनासो आउने गरेकोले यसको व्यवस्थापनका लागी समन्वय समिति गठन गर्ने निर्णया गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले जानकारी दिए ।

यातयात क्षेत्रको व्यवस्थापनका धेरै विषय भएकोले एकल निकायबाट मात्र समाधान गर्न नसकिने उल्लेख गर्दै उनले बहुपक्षीय समन्वय आवश्यक रहेको बताए । 

उनले विभिन्न निकायबीच समन्वयको कमीका कारण समस्या जटिल बन्दै गएको उल्लेख गरे । मन्त्री चौलागाईंले समन्वय समिति तत्कालै गठन गर्ने बताए । 

उनका अनुसार समितिले नियमित बैठकमार्फत जनगुनासोहरू तत्काल समाधान गर्नेछ । 

उनले भने, ‘हामीले यातयातसँग सम्बन्धित, ट्राफिक सिग्नल, रोड साईड सिम्बोलहरुसँग जोडिएका समस्याहरु बारे पटकपटक फेस गरिरहेका छौं । धेरै यातायात व्यवस्था कार्यालयहरुमा कुनै एउटा निश्चित संस्था, विभाग या शाखाले मात्रै त्यसलाई पूर्ण रुपमा सञ्चालन गर्न, सहजीकरण गर्न सक्दैन । त्यसलाई बहुपक्षिय समन्वय र सहयोग चाहिन्छ । त्यसका लागि समन्वय समति गठन गर्ने निर्णय गरेका छौं ।’ 

उनले ट्राफिक प्रहरीले पनि सचेतना अभिवृद्धि र सहजीकरणका लागि सक्रिय भुमिका खेल्ने प्रतिवद्धता जनाएको बताए । बैठकमा केही नीतिगत सुधारका विषयमा पनि छलफल अघि बढाइएको उनले जानकारी दिए । 

Share News