२१.५ मेगावाटको सभाखोला ‘बी’ जलविद्युतको सुरुङ छिचोलियो, ७५ प्रतिशत काम सम्पन्न

काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ । सभाखोलाको पानीलाई प्रयोग गरी निर्माणाधीन २१.५ मेगावाट क्षमताको सभाखोला आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो । 

एक कार्यक्रमकाबीच अर्विट इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक गणेश कार्कीले सुरुङ ‘ब्रेक थु्र’ गरेका हुन् । यो निजी क्षेत्रले पहिचान गरी अघि बढाएको आयोजनाको हो । सभापोखरी–३ मा इन्टेक एरिया रहेको आयोजनाको ४ हजार ११० मिटर सुरुङ छिचोलिएको छ । सभापोखरी गाउँपालिका वडा नं ३, ४ र ५ मा आयोजनाको काम भइरहेको छ ।

जलाशयको मुहान (इनटेक) बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको ४ हजार ११० मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको आयोजनाका इञ्चार्ज कृष्णप्रसाद पन्तले बताए । अब सुरुङको बाँकी कङ्क्रिट लाइनिङको काम गरिने र मुख्य सुरुङबाट गएको पानीलाई १ हजार ४५ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिने उनको भनाइ छ । हालसम्म आयोजनाको काम ७५ प्रतिशत सम्पन्न भइसकेको पन्तले जानकारी दिए ।

उक्त आयोजनाबाट उत्पादन भएको विद्युत् खाँदबारी नगरपालिका-१० सित्तलपाटीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिने आयोजना इन्चार्ज पन्तले बताउनुभयो । विसं २०७९ कात्तिक २३ देखि सुरु भएको उक्त आयोजना आगामी वैशाख २३ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

आयोजनाका इन्चार्ज पन्तका अनुसार आयोजनाअन्तर्गत प्रसारण लाइनको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म स्थानीयलाई रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र बेलिब्रिज पुल निर्माण लगायतका काम भइरहेका छन् ।

करिब ५ अर्ब रुपैयाँ लागत रहेको आयोजनाको मुख्य निर्माण कम्पनी बैभव पावर नेपाल प्रालिले काम गरिरहेको छ । 

Share News