आसन्न निर्वाचनमा करिब ३२ अर्ब खर्च हुने सरकारको अनुमान

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताएकी छन् । सरकारले जसरी पनि निर्वाचन गराउन लागिपरेको उनको भनाइ छ ।

उनले कुनै कारणवश निर्वाचन अवरुद्ध भए दोस्रो चरणमा भए पनि सम्पन्न गराइने बताइन् । हिमाली जिल्लामा चिसोका कारण केही जटिलता आए सवारीसाधन प्रयोग गर्न सकिने स्थानसम्म मतदातालाई ओसारेर भए पनि निर्वाचन गराइने उनले स्पष्ट पारिन् ।

निर्वाचन जसरी पनि सम्पन्न हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरिने प्रधानमन्त्री कार्कीले बताइन् । यसपटकको निर्वाचनमा करिब ३२ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको जानकारी पनि उनले दिइन् ।

उनले भनिन्, 'सरकारले जसरी पनि निर्वाचन गराउँछ । कतै रोकिए दोस्रो चरणमा गराइन्छ । केही स्थानमा सवारीसाधन प्रयोग गरेर मतदातालाई ओसारेर पनि मतदान गराइनेछ । अत्यन्त जटिल अवस्था आएमा त्यसअनुसार निर्णय गरिनेछ । निर्वाचन गराउनैपर्छ । जनताले मत दिएर प्रतिनिधि छान्छन् र उनीहरूले देश चलाउँछन् । चुनाव सर्दैन । ३१–३२ अर्ब खर्च हुन्छ, यो समयमा ।'

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको पनि बताइन् ।

Share News