विकराल बन्दै पाठेघरको मुखको क्यान्सर, नेपालमा हरेक दिन औसतमा चार महिलाको मृत्यु

काठमाडौं । नेपालमा हरेक दिन चार जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गरेको पाइएको छ । महिलाहरूमा सबैभन्दा बढी स्तन क्यान्सरको समस्या देखिए पनि मृत्युदर भने पाठेघरको मुखको क्यान्सरको बढिरहेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरेको छ । हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाको यही क्यान्सरबाट मृत्यु हुने गरेको पाइएको छ । यो भनेको औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हो ।

विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको पाइएको छ भने सन् २०३० सम्ममा यो दर ७ लाखसम्म पुग्ने अनुमान गरिएको छ । यस्तै, हरेक वर्ष तीन लाख ११ हजार जनाको महिलाको मृत्यु हुने गरेकोमा सन् २०३० सम्ममा चार लाखसम्म पुग्ने अनुमान गरिएको छ । 

डब्लुएचओमा कार्यरत चिकित्सक रोमन रञ्जितका अनुसार ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) भाइरस २ सय भन्दा धेरै प्रजातिका छन् । तर मानव शरीरमा क्यान्सर गराउने प्रजातिहरू १२ प्रकारका छन् । तीमध्ये सबैभन्दा बढी जोखिम गराउने १६ प्रजाति रहेका छन् ।

डा. रञ्जित नेपाल लगायत विश्वभर भयावहका रूपमा फैलिएको यो क्यान्सर रोक्न चुनौती भएको बताउँछन् । 

उनी भन्छन्, ‘यसबाट बच्ने उपाय भनेको एचपीभी खोप हो, यो लगाउन सरकारले अभियान नै चलाइरहेको छ । सबै अभिभावकले आफ्ना नानीहरूलाई अनिवार्य लगाउनुपर्छ ।’
डा. नेपाल ३० देखि ३९ वर्ष उमेर समूहका महिलाहरू पनि यसबाट बच्न नियमित जाँच गराउन आवश्यक रहेको बताउँछन् । 

माघ २७ गतेदेखि खोप अभियान सुरु

जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंले पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिने एचपीभी खोप कार्यक्रम आगामी माघ २७ गतेदेखि फागुन ५ गतेसम्म गर्ने भनेको छ । खोप अभियानमा २३ हजार ७ सय ४६ जना बालिकालाई एचपीभी खोप लगाउने लक्ष्य राखेको छ । यसका लागि काठमाडौंभित्र रहेका १ हजार १ सय ७३ विद्यालयमा खोपकेन्द्र सञ्चालन गर्ने योजना बनाएको छ ।

यो खोप १० वर्ष उमेरसमूहका किशोरीलाई दिइने कार्यालयले जनाएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख बसन्त अधिकारीले खोप अभियानको सबै तयारी पुरा भइसकेको जानकारी दिए । उनले वडा कार्यालयका जनप्रतिनिधि महिला स्वास्थ्य स्वयंसेविका लगायतसँग मिलेर अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।

उनी भन्छन्, ‘हामीले यो अभियान फागुन महिनाबाट सञ्चालन गर्ने योजना बनाएका थियौं तर फागुनमा निर्वाचन हुँदा अगाडि नै कार्यक्रम सुरु गरेका हौं ।’

उनका अनुसार विद्यालय पढ्न बालिकालाई विद्यालयमै र बाहिर रहेका बालिकाको खोजी गरी घरमै पुगेर खोप लगाउने योजना बनाएको छ । 

स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतले काठमाडौंभित्र खोजी गर्दा करिब एक हजार बालिका विद्यालय बाहिर रहेको अनुमान गर्दै उनीहरूलाई घरमै पुगेर खोप लगाउने योजना बनाइएको छ । 

Share News