स्रोत अभावले निर्वाचन अवरोध हुँदैन, मितिमा सरकारले सम्झौता गर्दैनः र्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले स्रोतको अभावबाट निर्वाचनमा कुनै अवरोध सिर्जना नहुने स्पष्ट पारेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सरकारले आर्थिक स्रोतको व्यवस्था मिलाइएकाले निर्धक्क भएर चुनावको तयारीलाई निरन्तरता दिन निर्देशन दिए ।

म्याग्दीको बेनीमा पुगेका खनालले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीहरूसँग निर्वाचनको तयारी र जिल्लाको वस्तु अवस्थाका विषयमा जानकारी लिए ।

‘नयाँ पुराना सबै राजनीतिक दलहरूले सौहार्द र शान्तिपूर्ण तरिकाले चुनावमा भाग लिने वातावरण बनाएर सफल बनाउने सरकारको अहिलेको प्रमुख दायित्व हो,’ अर्थमन्त्री खनालले भने, ‘स्रोतको अभावले निर्वाचनमा कुनै अवरोध हुँदैन भन्ने विश्वास दिलाउँछु ।’

उनले मिथ्या र भ्रामक सूचना प्रवाह रोक्नका लागि संवेदनशील बन्न आग्रह गरे । भ्रामक, मिथ्या सूचना र भदौ २४ गते लुटिएका हातहतियारलाई सरकारले चुनावका लागि चुनौतीका रूपमा लिएर त्यसको सामना गर्ने रणनीति बनाएको बताए ।

मौसमका कारणले फागुन २१ गते कुनै स्थानमा मतदानमा समस्या आएमा त्यसको निर्णय निर्वाचन आयोगले तत्कालै लिने बताउँदै मन्त्री खनालले चुनावको मितिमा सरकारले सम्झौता नगर्ने स्पष्ट पारे । 

मन्त्री खनाललाई मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यलगायत सुरक्षा अधिकारीसँग चुनावको तयारीका विषयमा जानकारी लिए । 

जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले अस्थायी मतदाता र चुनावमा खटिने कर्मचारीको नामावली सङ्कलन भइसकेको जानकारी दिइन् । ६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा प्रतिनिधिसभामा एक वटा निर्वाचन क्षेत्र रहेको छ । 

म्याग्दीमा ११ जना दल र १ जना स्वतन्त्र उम्मेदवार छन् । ८६ हजार ३९७ जना मतदाता छन् । ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र छन् । 

Share News