निर्वाचनका लागि भारतले दियो ६५० गाडी, ५३८ वटा नेपाल भित्रिए

१८ वर्षमा निर्वाचन प्रयोजनका लागि भारतबाट कति आए गाडी ?

काठमाडौं । भारत सरकारले आगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई ६ सय ५० वटा गाडी अनुदान सहयोगस्वरूप उपलब्ध गराएको छ । सोमध्ये ५ सय ३८ वटा गाडी नेपाल भित्रिसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले भारतले प्रदान गरेका गाडीहरूमध्ये महिन्द्रा कम्पनीका स्कार्पियो र बोलेरो जीपलगायतका हल्का सवारीसाधन नेपाल आइपुगेको जानकारी दिए । उनका अनुसार अब बाँकी १ सय १२ वटा ठूला तथा हेभी गाडीहरू आउने क्रममा छन्, जसमा सुरक्षा निकायले प्रयोग गर्ने ट्रकहरू समेत समावेश छन् । 

‘कुल ६ सय ५० गाडीमध्ये ५ सय ३८ वटा आइपुगेका छन्, बाँकी १ सय १२ वटा ठूला गाडी आउन बाँकी नै छन्,’ उनले विकासन्युजसँग भने ।

null

यो सहयोग पूर्णतः अनुदानमा आधारित भएको र निर्वाचन प्रयोजनका लागि दिइएको प्रवक्ता पाण्डेयले स्पष्ट पारे । निर्वाचन सम्पन्न भएपछि पनि ती गाडीहरू फिर्ता नभई नेपाल सरकारकै विभिन्न निकायहरूले प्रयोग गर्नेछन् । 

‘यो निर्वाचनलक्षित अनुदान सहयोग हो । चुनावपछि गाडी फिर्ता गर्ने होइन, नेपालकै सरकारी निकायहरूले प्रयोग गर्नेछन्,’ उनले भने । 

गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्यले गाडीहरू चुनावपछि कुन निकायले प्रयोग गर्ने भन्ने विषय आवश्यकताका आधारमा निर्धारण गरिने जानकारी दिइन् ।

‘सुरक्षा निकाय वा अन्य सरकारी कार्यालयहरूमध्ये जहाँ गाडीको अभाव छ र जसलाई आवश्यक पर्छ, उसैले प्रयोग गर्नेछ,’ उनले भनिन् ।

यस सहयोगले निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको सूचना अधिकारी आचार्यको भनाइ छ । 

अर्थ मन्त्रालयले उक्त गाडीहरूका लागि आवश्यक भन्सार तथा कर छुटको सहजीकरण गरेको थियो । अब यी गाडीहरूको प्रयोग, सञ्चालन र व्यवस्थापनको सम्पूर्ण जिम्मा गृह मन्त्रालय र निर्वाचन आयोगको समन्वयमा हुनेछ। 

भारतीय दूतावासको तथ्यांकअनुसार पछिल्ला १८ वर्षमा निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई करिब ३ हजार सवारीसाधन उपलब्ध गराइसकेको छ । 

हरेक निर्वाचनमा भारतले नेपाललाई सवारीसाधन उपलब्ध गराउँदै आएको छ । 

null

Share News