काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिकाले आफैं सो रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बीमाबापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै मेयर महर्जनले सरकारको ध्यानाकर्षण गराए । कुनै कारणवश भुक्तानी नभएर सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले व्यहोर्नुपर्ने उल्लेख गरे । महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पेमा महानगरपालिकाले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे ।
मेयर महर्जनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको र सो केन्द्र निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिए । उनका अनुसार यो केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले गुणस्तरीय सेवा प्राप्त गर्नेछन् र ललितपुर महानगर तथा पाटन अस्पतालबीचको यो सहकार्य मुलुकका अन्य ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यास हुनेछ ।
उनले भने, 'पाटन अस्पतालकै सुझाव र सल्लाहबमोजिम आवश्यक सुविधाहरू जडान गरिएको अर्को स्वास्थ्य केन्द्र निर्माण गरिरहेका छौं । निकट भविष्यमै सञ्चालनमा ल्याउने तयारी छ । त्यो केन्द्र खुलेपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानअन्तर्गत हामीले अझ राम्रो सेवा प्रवाह गर्न सक्छौं । मुलुकका ७५३ स्थानीय पालिकामध्ये ललितपुर महानगरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेर अघि बढाएको यो काम सम्पूर्ण पालिकाका लागि असल अभ्यास बनेको छ ।'
मेयर महर्जनले ७५३ पालिकामध्ये ललितपुर महानगर उदाहरणीय पालिका बन्न सफल भएको पनि बताए ।