निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ

फाइल तस्बिर ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी अभिव्यक्ति दिएकाले साइबर ब्यूरोले उनलाई ललितपुरबाट पक्राउ गरेको हो ।

निर्वाचन आयोगले आचारसंहिता उंल्लघन गरेको भनी पत्र पठाएकाले पक्राउ गरिएको ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।

ब्यूरोका एक प्रहरी अधिकृतका अनुसार प्रसाईंले ‘निर्वाचन नहुने भन्दै’ अभिव्यक्ति दिएका थिए ।  सर्वसाधारणमा भ्रम छर्ने अभिव्यक्ति दिएकाले उनलाई ब्यूरोले नियन्त्रणमा लिएको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए । 

सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । आयोगले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

Share News