काठमाडौं । माइक्रोसफ्टले विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) असमानता घटाउने उद्देश्यले दशकको अन्त्यसम्म ५० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ।
बुधबार आयोजित एआई समिटमा कम्पनीले ‘ग्लोबल नर्थ’को तुलनामा ‘ग्लोबल साउथ’मा एआई अपनाउने गति करिब आधा मात्र रहेको र यो अन्तर निरन्तर बढिरहेको बताएको हो ।
समिटको एक सेसनमा माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथ र प्रमुख जिम्मेवार एआई अधिकृत नताशा क्र्याम्पटन सहभागी थिए । उनीहरूले समयमै आवश्यक कदम नचालिए एआई खाडलले विश्व आर्थिक असमानता अझ गहिरो बनाउन सक्ने चेतावनी दिए ।
घोषित ५० अर्ब डलर लगानी पाँच प्रमुख क्षेत्रमा खर्च गरिने जनाइएको छ—डिजिटल पूर्वाधार, सीप विकास (स्किलिङ), बहुभाषिक एआई विकास, स्थानीय नवप्रवर्तन, र एआई अपनाउने प्रवर्द्धन ।
गत आर्थिक वर्षमा माइक्रोसफ्टले ‘ग्लोबल साउथ’का लागि डाटा सेन्टर पूर्वाधारमा ८ अर्ब डलरभन्दा बढी खर्च गरेको थियो, जसमा भारत, मेक्सिको, अफ्रिका, दक्षिण अमेरिका, दक्षिण–पूर्वी एशिया र मध्य–पूर्व समेटिएका छन् ।
कम्पनी २५ करोड मानिससम्म इन्टरनेट पहुँच पुर्याउने लक्ष्यमा काम गरिरहेको छ, जसमा १० करोड अफ्रिकाबाट हुनेछन् ।
हालसम्म अफ्रिकामा ११.७ करोड मानिससम्म पहुँच विस्तार भइसकेको कम्पनीले जनाएको छ । डिजिटल स्किलिङअन्तर्गत गत वर्ष २ अर्ब डलरभन्दा बढी लगानी गरिएको थियो । भारतमा २०२५ मा ५६ लाख व्यक्तिलाई तालिम दिएपछि अब २०३० सम्म २ करोड भारतीयलाई एआई सीपले सशक्त बनाउने लक्ष्य राखिएको छ । समिटमा ‘इलिभेट फर एडुकेटर्स’ कार्यक्रम पनि सुरु गरिएको छ, जसअन्तर्गत २ लाखभन्दा बढी संस्थाका २० लाख शिक्षक र ८० लाख विद्यार्थीलाई एआई क्षमतासँग सशक्त बनाइनेछ ।
अमेरिकी चिप निर्माता क्वालकमले भारतको एआई स्टार्टअप इकोसिस्टमलाई टेवा पुर्याउन १५० मिलियन अमेरिकी डलर (करिब २१७६ करोड रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ । यो कोष सबै चरणका स्टार्टअपमा लगानी गरिनेछ, विशेषगरी अटोमोटिभ, इन्टरनेट अफ थिङ्स, रोबोटिक्स र मोबाइलसँग सम्बन्धित एआई समाधान विकास गर्ने कम्पनीहरूमा केन्द्रित रहने जनाइएको छ ।
कम्पनीका सीईओ क्रिस्टियानो आमोनले एआई नयाँ चरणमा प्रवेश गरिरहेको बताउँदै स्मार्टफोन, पीसी, कार तथा औद्योगिक मेसिनजस्ता उपकरणहरूमा प्रत्यक्ष बौद्धिकता समावेश हुँदै गएको उल्लेख गरे । उनका अनुसार एआईले विभिन्न क्षेत्रमा नवप्रवर्तनलाई तीव्र बनाउनेछ र यस प्रक्रियामा भारतको स्टार्टअप इकोसिस्टमले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।