काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले आर्थिक सहयोग मागेकी छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले घुँडाको एसीएलमा पहिले शल्यक्रिया गरिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको र त्यसको उपचारका लागि आर्थिक सहयोग आवश्यक भएको जानकारी दिइन् ।
‘पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो भए अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केही समय बितिसक्ने थियो । तर अझै म उपचारको लागि भौतारिइरहेकी छु,’ उनले भनिन् ।
उनले सामाजिक सञ्जालमा युएस डलर ८० हजार डलरको आवश्यक रहेको खुलाएकी छन् । आजको नेपाली मूल्य बराबर १ करोड १६ लाख ४६ हजार रुपैयाँ आवश्यक परेको बताएकी छन् ।
एन्फाले सहयोग गर्ने वाचा गरे पनि अहिलेसम्म कुनै सहयोग प्राप्त नभएको उनको भनाइ छ । चोट लागेपछि तीन सातापछि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको थियो, तर एन्फाले सहयोग गर्ने भने पनि त्यसमा ध्यान नदिएको उनी बताउँछिन् ।
‘मैले पटक–पटक प्रयास गरेँ, सम्पर्क गर्न खोज्दा पनि सम्पर्क भएन । अघिल्लो साता एन्फाका अध्यक्षले नै मेरो उपचारमा प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद पाँच लाखसम्म सहयोग गर्ने र बाँकी प्रक्रिया आफैं गर्न भन्नुभयो । एकातिर मैले पहिले सुरु गरेको प्रक्रिया रोकियो, अर्कोतिर झन्डै दुई महिनापछि शल्यक्रियाको मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ,’ उनले थपिन् ।
उनले खेलिरहेको क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको जानकारी दिइन् । ‘चोट गम्भीर छ र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको भएकोले म पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा राख्छु । क्लबले बिमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिनेछ । तर उक्त रकम शल्यक्रिया र सात–आठ महिनाको रिह्याबका लागि अपुग हुने भएकाले समर्थकबाट सहयोग माग्न आएको हुँ,’ उनले लेखिन् ।
उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने उनले खुलाएकी छन् । सरकारले सहयोग मागे पनि सरकारी प्रक्रिया अपेक्षाअनुसार अघि बढेको छैन ।
सावित्राले आफ्नो खेलकुद करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको बताइन् । ‘हरेक पटक साहसका साथ पार गरेको र यसपटक पनि पुनः माथि उठ्न तपाईंको सहयोग आवश्यक छ । यो मेरो करियरको सबैभन्दा कठिन लडाइँ हो। मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पछि हटेपछि मेरा साथमा आम समर्थकहरू छन् । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु,’ उनले भनिन् ।